Logo
Logo
कला

फिल्मी क्षेत्रमा सबै खराब छैनन्



काठमाडौं । बुटवलकी पुनम गौतम फिल्ममा करिअर बनाउन चाहन्छिन् । फिल्म क्षेत्रमा प्रवेश गर्न पुनमले मोडलिङलाई भर्याङ बनाएका छन् । २०७५ मा ‘राईजिङ मोडल’को उपाधि जितेसँगै ग्ल्यामरस क्षेत्रमा पाइला चालेका पुनम भन्छिन्, ‘मेरो रुची फिल्म क्षेत्र हो । फिल्ममा आउनकै लागि ब्युटी कन्टेस्टमा भाग लिएँ । विजेता पनि बनेँ । तर, प्राथमिकता फिल्मलाई दिएकी छु ।’

फिल्मी मोहले ‘मिस नेपाल’को अडिसनमा छनोट भएर पनि नगएको उनको भनाइ छ । मोडलिङसँगै एक आईएनजीओमा कार्यरत पुनम भन्छिन्– ‘फिल्मबाहेक पढाइको हिसाबले विजनेशमा इच्छा छ । तर, फिल्मी क्षेत्रमै सफल हुन्छु भन्नेमा विस्वस्त छु ।’

बीबीएस तेस्रो वर्षमा अध्ययनरत पुनमले म्युजिक भिडियोबाहेक टिभी सेरिजमा पनि अभिनय गरिसकेका छन् । फिल्ममा करिअर बनाउन राम्रो ब्यानरको पर्खाइमा रहेका पुनम गौतमसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
मोडलिङमै छु । म्युजिक भिडियोहरू गरिरहेकी छु । त्यसबाहेक एक आईएनजीओमा काम गर्छुु ।

तपाईंको हाइटले र्याम्प मोडलिङ सुहाउँछ, र्‍याम्प पनि गर्नुहुन्छ ?
मैले खासै र्‍याम्प मोडलिङ गरेकी छैन । म्युजिक भिडियोहरूमा मोडलिङ गर्दै आएकी छु । मैले एउटा सेरिज गरेकी छु । मेरो रुची भनेको फिल्म क्षेत्र हो । फिल्म क्षेत्रमा लाग्न मोडलिङ सुरु गरेकी हुँ ।

मोडलिङ सुरु गर्नुभएको कति भयो ?
२०७५ सालमा ब्युटी कन्टेस्ट ‘राईजिङ मोडल’मा भाग लिएपछि यो क्षेत्रमा लागेकी छु । ब्युटी कन्टेस्टको उपाधि पनि जितेँ । त्यसपछि मोडलिङ गर्न थालेँ । फिल्मी क्षेत्रमा प्रवेश गर्नलाई नै मोडलिङमा आएकी हुँ । फिल्मप्रतिको मोहले ‘मिस नेपाल’को अडिसनमा छनोट भएर पनि गइनँ । बुटवलबाट ‘मिस नेपाल’को अडिसनमा मसहित तीन जना छनोट भएका थियौँ । तर, तीनै जना गएनौँ ।

फिल्मप्रति यति धेरै मोह किन ?
सानैदेखि मलाई फिल्मप्रति रुची जागेको हो । सानो हुँदा नाँच्ने, गाउँने गर्थें । त्यसबेलादेखि नै हिरोइन हुने इच्छा बढ्न थालेको हो ।

अहिलेसम्म फिल्ममा काम गर्ने अवसर जुरेको छैन ?
एक पटक जुरेको थियो तर, गर्न पाइनँ । नेपाली फिल्म ‘आँधी तुफान’मा मुख्य अभिनेत्रीका रुपमा छनोट भएकी थिएँ । तर, त्यसबेला स्वास्थ्यले साथ नदिएपछि काम गरिनँ ।

बुटवलबाट काठमाडौं सुरुमा केका लागि आउनुभएको थियो ?
‘राईजिङ मोडल’मा विनर भइसकेपछि पहिलोपटक म्युजिक भिडियो खेल्नका लागि काठमाडौं आएकी थिएँ । तर, त्यसबेला काठमाडौंमा कसैसँग चिनजान थिएन । काठमाडौं आएपछि कता जाने भन्नेसमेत थाहा थिएन । यहाँ आएपछि दिदीसँग बस्न थालेँ । तर, एक्लो हुँदा दिमागले केही नभ्याउने रहेछ । काठमाडौंमा सुरुका दिनहरू मेरा लागि निकै कठिन थियो । अहिले बल्ल कला क्षेत्रका मान्छेसँग चिनजान बढ्दै गएको छ । र, सहज भएको छ ।

फिल्मी क्षेत्रमा स्थापित हुने सपना देख्नुभएको छ । तपाईंको तयारी के छ ?
अहिले मोडलिङमै छु । यो एउटा पाटो भयो । त्यसबाहेक डान्स र फिजिकल फिटनेश गर्दैछु । साथै, अभिनय पनि सिक्ने सोच बनाएकी छु ।

अहिलेसम्म कला क्षेत्र कस्तो लागिरहेको छ ?
कुनै पनि काम सोचेजस्तो हुन्न । संघर्ष सबै क्षेत्रमा गर्नुपर्छ । मेहनत नगरे सफलता पाइन्न । अहिले संघर्ष र मेहनत गरिहेकी छु । काम गर्दै जाँदा सम्बन्धित क्षेत्रका मानिससँग चिनजान बढ्दैछ । त्यसैले काम गर्न सजिलो लाग्न थालेको छ ।

नेपाली फिल्म क्षेत्रमा आफूलाई टिकाउन कडा प्रतिस्पर्धा गर्नुपर्छ । त्यसमा तपाईं तयार हुनुहुन्छ ?
मलाई प्रतिस्पर्धा गर्न मनपर्छ । फेदबाट पलाउनु र एकैचोटी टुप्पोमा पलाउनु बेग्लै हुन्छ । प्रतिस्पर्धा पछिको सफलतामा भिन्नै आनन्द आउँछ । हरेक क्षेत्रमा मेहनत गरेरै प्रतिस्पर्धा गर्ने हो । त्यो धैर्यता र आत्मविश्वास मसँग छ ।

कला क्षेत्रमा महिलाहरूका लागि स्थापित हुन गाह्रो छ भन्छन् नि ?
मैले सुन्दै आएको पनि हो । अहिले त ब्युटी प्याजेन्टहरूका केसहरू पनि आइरहेका छन् । अझ पल शाह प्रकरणपछि त सिधै फिल्मी क्षेत्रमा यस्तो हुन्छ र त्यस्तो हुन्छ भन्न थालेका छन् । यसअघिसम्म ‘हुन्छ रे’ मात्र भन्थे । अहिले त साथीहरू नै फिल्मी क्षेत्रमा ‘यसो र उसो हुन्छ’ भन्छन् । तर, मलाई फिल्मी उद्योगका कसैले पनि नराम्रो भनेका छैनन् ।

निर्देशक/निर्माताबाट हिरोइनलाई प्रलोभनमा पारिन्छ रे नि ?
सबै निर्माता र निर्देशक उस्तै हुँदैन । नेपाली फिल्म क्षेत्रमा राम्रा मान्छे पनि छन् । जसले कला र प्रतिभा भएकालाई अवसर दिने गरेका छन् । बाँकी स्वार्थ पूरा गर्न फिल्म क्षेत्रमा आएका हुन सक्छन् । तर, मलाई अहिलेसम्म कसैले प्रलोभनमा पार्ने कोसिस गरेका छैनन् ।

सिंगल हुनुहुन्छु । प्रेम प्रस्ताव त आउला नि ?
उमेरमा प्रेम प्रस्ताव आउनु सामान्य हो । तर, प्रेम प्रस्तावलाई कसरी लिने भन्ने आफुमा भरपर्छ ।

प्रतिक्रिया दिनुहोस्