Logo
साहित्य

श्यामलको दृष्टिमा श्याम


श्यामल


नेपाली पत्रकारिताका कुनामा श्याम रिमाल फगत एक सम्पादकको नाम भएजस्तो देखिए पनि कविका रुपमा उनको परिचय पहिल्यै स्थापित भइसकेको हो ।

साहित्य त्यसमा पनि कविता भनेपछि हुरुक्कै हुने प्रौढ पुस्ताको प्रतिनिधि पात्र हुन् उनी । काँधमा झोला र हातमा नोटबुक तथा कलम भिरेर खासगरी साहित्यिक समारोहहरुमा पछिल्लो पंक्तिमा बसेर समाचार बनाइरहने उनको दिनचर्यामा कविताले अहं महत्व राख्दछ ।

पछिल्लो समय म राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्ष भएर आएपछि हामी सहकर्मी भयौं । बीसौं वर्षदेखि भद्रकालीको प्रधान कार्यालयमा कार्यरत उनी मेरो एजेन्सीका वरिष्ठ सम्पादक हुन् र हाल उनी नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् ।

यसअघि मैले यति अभिरुचिपूर्वक श्याम रिमालजीका कविता पढेको रहेनछु भन्ने स्वीकारोक्तिका साथ मैले उनका कवितामा प्रवेश गरेको छु ।

यसपटक उनले त्यो मुहुर्त जुराइदिएका छन् । र, कुरो संयोगको मात्र होइन, सन्तोषदायी संयोगको समेत हो । अति वाचाल कविता लेख्नेहरूको हुलमा श्यामजीले विस्तारै मस्तिष्क स्पर्श गर्ने मिहीन भावबोधका कविता सिर्जने गरेका रहेछन् ।

पाण्डुलिपिमा आँखा दौडाउँदै गर्दा उनको एक कविताले मलाई आकर्षित गर्याे, जो उनको दालभात जोर्ने कामसँग गाँसिएको थियो ।

देश जलिरहेछ
देशवासी डुबिरहेछन्
अक्षरहरुसँग खेल्दै गर्दा
देश नै बिर्सन पुगिँदोरहेछ
समाचारका थुप्रो अगाडि
निरीह बस्नु पर्दाेरहेछ ।

टेबुलमा थुप्रिएका थरीथरीका समाचार सम्पादन गर्दागर्दै देश बिर्सन पुग्नु सम्पादकको नियति हो । अर्थात्, समाचारका घटनाहरू र तिनलाई प्रस्तुत गर्ने समाचारदाताका दबाबले समयभोग गरिरहेका हुन्छन्, ऊ समाचारको दबाब भोग गरिरहेको हुन्छ । ऊ अन्य केही गर्न सक्दैन । यी र यस्तै भावनाका जगमा यी कविताहरूको रचना भएको छ ।

श्यामजीका कविताले दिनानुदिन साक्षात्कार गर्नुपरेका प्रकृतिविरोधी घटनाहरूको परिणाम भोगिरहेको मानिस जातिको आफ्नो ग्रह पृथ्वीको चिन्ता गर्छन्, विकसित औद्योगिक मुलुकका चरम महत्वांकांक्षी बजार संस्कृति, व्यक्तिकेन्द्रित सामाजिक राजनीतिक मूल्य प्रणाली र पर्यावरण विरोधी चिन्तनप्रणालीका विपक्षमा पाठकहरूलाई तयार गर्ने चेष्टा गर्छन् । सम्भवतः यही नै उनका कविताको वैशिष्ट्य हो ।

घरमा पर्खिरहेका हिमकला र हिउँबालासित
हरित ग्याससँग लड्ने तागत छैन
हिउँ पगाल्ने शत्रु सात समुद्रपारि छ
र नखाएको विष खानु छ

हिमालबाट भागेर कहाँ जाने हिउँका सन्तानहरु
मुखमा माड लगाउन फेरि उक्लिनैपर्छ आधारशिविरमाथि
‘यस्ये मे हिमवन्तो महित्वा ।’

देख्ता हिमाल जति धवल र प्यारो छ, उति नै त्यो कठिन छ चढ्नमा । कवि हिमालको चिन्ता त्यसको काखमा जीवन चलाउने मानिसहरुका अनुहारमा देख्छन् । त्यसैले हिमालको धवलताको क्षयीकरणमा उनी शोकगीतको रचना गर्छन्, र यो पनि सही हो कि विश्वका विकसित औद्योगिक मुलुकका राजनीतिकहरूको अति महत्वाकांक्षी उपभोक्तावादी संस्कृतिलाई यस महाविनासका निम्ति जिम्मेवार ठान्छन् । हरितगृह ग्यासको उत्सर्जनको प्रभावमा कालाम्य भएका हिमालहरुबाट निस्कने नमिठो धुन उनले सुनेका छन् ।

मैले हिउँको शोकगीत रचेको छु
मैले त्यसको नमिठो धुन सुनेको छु
मैले हिमालको मृतनृत्य हेरेको छु
मलाई पर्वतको व्यथा नकह ।
(४४. हिमालसँग एकछिन)

नेपाली कविता विश्वको अधुनातन चुनौतिमाथिका वहसमा यसरी उत्रन्छ । उसले अचेल विभेदका नाना भेदहरूका बारेमा चासो राख्न थालेको छ । उसले आफ्ना असहमतिका स्वरहरु विश्व समुदायलाई सुनाउन चाहिरहेको छ ।

एक्काइसौं कविता ‘म’ लाई कविले तन्द्रामा आधारित भनेका छन् । तन्द्रा चेतन र अचेतनका बीचको एक विशेष दैहिक र मानसिक अवस्था हो । यस्तै अवस्थामा आफ्नो अस्तित्वको बोधलाई दार्शनिक स्तरमा हेर्ने प्रयास यस कवितामा भएको छ ।

आफु अस्तित्ववान भएकैले गति, आत्मा, अहं, देश, माटो, मुटु भएको बोध देशसँग एकाकार हुन्छ र भन्छ, देश भएकैले म अस्तित्वमा छु । खण्ड खण्डबाट अखण्ड र अखण्डबाट खण्ड खण्डमा बाँच्नु नै देशत्व हो भन्ने उनको बुझाई छ ।

०००

संसारलाई बदल्ने चाहना यिनका कवितामा यत्रतत्र अनुभव गर्न सकिन्छ । उनी पुरानाको विपक्षमा र नयाँका पक्षमा उभिने कवि हुन् भन्ने कुराको दृष्टान्तका रुपमा ३० औं कविता ‘पुरानाका विरुद्ध’ । यसमा युगसापेक्ष हुन नसकेको हाम्रा जीवनका आधार बिम्बहरूको पुनर्परिभाषा गर्ने उनको चाहना अभिव्यक्त भएको छ ।

यस्तो प्रयास पहिलोपल्ट भएको होइन, विश्वका कैयौं प्रसिद्ध कविहरूले यस्तो प्रयास गरिआएका छन् भन्ने हामीलाई थाहा छ ।

प्रख्यात बिट कवि एलेन गिन्स्बर्गले आफ्नै मातृभूमि अमेरिकाको बमसँग आफूले सम्भोग गर्ने उद्घोष गरेर विश्व जनमतलाई आकर्षित गरेका थिए ।

नारीवादी अमेरिकी कवि एलिस वाकरले सुनको सिक्रीलाई नेल भनेकी थिइन् । चिलीका प्रख्यात कवि पाब्लो नेरुदाले आफ्नो ‘द फिट’ कवितामा दुनियाँले हेप्ने गरेको श्रमशील खुट्टाको नयाँ परिभाषा दिदै श्रमको सौन्दर्य स्थापित गरेका थिए ।

हाम्रै कवि गोपालप्रसाद रिमालले नेपालको धर्तीमा लेनिन र बुद्ध जन्माउने उद्घोष गरेका थिए । जर्मन कवि बर्तोल्त ब्रेख्तले विमारको निदान गर्न नसक्ने डाक्टरलाई थुप्रै प्रश्न गरेर रोगको जड कुपोषण होइन, राज्यव्यवस्था हो भन्ने सन्देश दिएका थिए । भारतीय पन्जाबी कवि अवतारसिंह पाशले सपनाहरूलाई मर्न नदिने कसम खाएका थिए ।

कवि आफ्नो समयप्रति सचेत हुनैपर्छ र समसामयिकताबोधले नै उसलाई पाठकसँग अन्तरंग संवाद स्थापित गराउन सक्छ । यही बोधको तीब्रताका कारण एलेन गिन्स्बर्गले मानवसंहारमा लिप्त तत्कालीन युद्धोन्मादी अमेरिकी राजनीतिमाथि कडा प्रहार गरेका थिए ।

अमेरिकाले हिरोसिमा र नागासाकीमाथि बम बर्साएको मात्र होइन, भियतनाममाथिको आक्रमणको निन्दा गरिएका सम्भवतः लाखौं कविताहरु विश्वका कैयौं भाषामा लेखिए ।

अहिले पनि खाडी युद्ध र पछिल्लो पटक सिरिया तथा अफगानिस्तानका युद्धहरुबारे लेखिएका समकालीन अरबी कविहरुका कविता निकै चाखलाग्दा छन् । विवेकहीन राजनीतिक क्रीडाप्रतिको यो वितृष्णा प्रायः सबै मुलुकका कविताको साझा विशेषता हो ।

यही समसामयिकताबोध अन्य कविका झैं श्याम रिमालका कविताको प्राथमिकता बनेको छ । रिमालका कविताहरु आफु निरन्तर खिइंदै गइरहेको, समयचक्र फन्फनी घुमिरहेको तर आफु उहीं जमिरहेको, परिवर्तनको उत्कट चाहना भएको र नयाँ गति पक्रन खोजिरहेको तर पनि पुराना दृश्यहरू देख्न भोग्न अभिशप्त नागरिक सोचका काव्यात्मक प्रतिक्रिया बन्न पुगेका छन् ।

हाम्रो सोच, जीवन प्रणाली र दिनचर्यामा कतै पनि नयाँपन नआएपछि प्रेम, प्रणय र वासनाले पनि पुरानै भाव मात्र बोक्छन् भन्नु स्वाभाविकै हो । यसैले आफैबाट बाहिर निस्कन नसकेको बोधले गर्दा मानिस तीर्थाटन वा पर्यटनमा निस्कन्छ, नयाँ भूगोल, नयाँ मानिस र नयाँ संस्कृतिको स्वाद लिन चाहन्छ ।

नौला मानिस र परिवेशका बीच आफुलाई राखिहेर्छ, र केही नयाँ अनुभव सिद्धि हुन्छ । काल, गति र दुरी यी सायद बढी गैरस्थानिक हुन, स्थान बढी स्थानिक होला तर काल, गति र दूरीले स्थान प्रभावित भएर परिवर्तन हुँदैै गएका यथेष्ट उदाहरण छन् । यसमा विज्ञान र प्रविधिको प्रयोगको भूमिका अहं रहेको छ ।

मानिसले आफ्नो भौतिक सुविधा बढाउनका लागि विशाल र शक्तिशाली यन्त्रहरूका माध्यमबाट भ–ूदृश्य र जलवायुमा अवान्छित तथा प्रकृतिद्रोही परिवर्तन गरिरहेको छ र यसको नेतृत्व शक्तिसम्पन्न औद्योगिक मुलुकका नेताहरुले गरिरहेका छन् ।

पहिलो विश्वका रुपमा परिभाषित उत्तर वा विकसित मानिएका यस्ता देशहरुले एसिया, अफ्रिका र दक्षिण अमेरिका तथा भूपरिवेष्टित र साना अर्थतन्त्रका महासागर क्षेत्रका द्वीप राष्टरूका सभ्यता, संस्कृति र सार्वभौमिकता खुम्च्याउने अनेकौं प्रकारका रणनीतिक चालहरु चलिरहेका छन् ।

तिनले विज्ञान र प्रविधिको क्षेत्रमा मानव जातिले हासिल गरेका उपलब्धिलाई प्रकृतिद्रोही उपभोक्तावादी संस्कृतिको विस्तार गर्न चरम दुरुपयोग गरिरहेका छन् । यस्तो व्यवहारले मानव जाति र उसका सहचर यावत् प्राणीजगतको साझा र एक मात्र आधार पृथ्वी नामक ग्रहको भविष्य समेत जोखिममा पर्न गएको छ ।

विश्वका संवेदनशील वैज्ञानिकहरु, दार्शनिकहरु, साहित्यकार तथा कलाकारहरुले यस तथ्यलाई राम्रोसँग बुझेका छन् । कवि श्याम रिमाल आफुलाई त्यसै पंक्तिमा उभ्याइरहन चाहन्छन् भन्ने कुरा उनका कविताबाट स्पष्ट हुन्छ ।

कवि श्याम रिमालले आफ्नै मुलुकको राजनीतिक रोगको पहिचान गरी सत्तासीन रोगी राजनीतिज्ञको कुरुपताको शब्दचित्र प्रस्तुत गरेका छन् (४८ औं कविता) । एकप्रकारले यस रचनालाई सपाट कविता भन्न सकिन्छ ।

कवितालाई यसरी प्रस्तुत गर्दा कविताको कलात्मक क्षमता कमजोर हुने जोखिम भने कायम रहन्छ । यसैले यो आक्रोशको निख्खर अभिव्यक्ति बन्न गएको छ ।

कविता खुकुलो अभिव्यक्ति होइन, परन्तु यो विशिष्ट कला अभिव्यक्ति हो भन्ने धारणालाई स्वीकार गरिसकेपछि कविता बन्नका लागि नभई नहुने तत्वहरु स्वतः खुल्दै जान्छन् अनि कविता जटिल संरचना हो कि सरलतामा काव्यको गहनता सम्भव छ भन्ने विवादको निरुपण हुँदै जान्छ ।

भाषाको सहज बोधगम्यता वा कठोर दुर्बोध्यता मात्रले कुनै पाठलाई कविता भनिहाल्न सकिन्न । कविताको आफ्नै स्वभाव छ र त्यसलाई कुनै पनि सैद्धान्तिक बहानामा खारेज गर्न मिल्दैन ।

समसामयिक प्रगतिशील नेपाली कविताका विषयवस्तु स्थुलरुपका र सपाट भएका कारणले यिनमा कलाचेतको अभाव देखिनु स्वाभाविक हो । यसले विद्रोह र क्रान्तिबारे बोल्दछ, तर पाठकको अन्तस्करणलाई झंकृत तुल्याउने गरी समाजको एक सर्वाधिक महत्वपूर्ण इकाइका रुपमा रहेको व्यक्ति र ऊ बाँचिरहेको समाजका सामुहिक मनोदशालाई सुक्ष्म रुपमा प्रतिबिम्बन गर्न नसकेको धारणा बनाउनेहरुको संख्या ठूलै छ ।

यसैले मन्जुल, विमल निभा, वम देवान, विक्रम सुब्बा, जसराज किराती, मीनबहादुर विष्टजस्ता भूपि शेरचनपछिको प्रगतिशील नेपाली कविताका महत्वपूर्ण हस्ताक्षरहरुले प्रगतिशील कविताका रचनामा व्याप्त रुढीलाई नकार्ने काम गरेकै हुन् ।

यही पुस्तामा आएर पाब्लो नेरुदा, फ्रेडरिको गार्सिया लोर्का, नाजिम हिकमत, गजानन माधव मुक्तिबोध आदि प्रसिद्ध कविका कविताहरु अभिरुचिपूर्वक पढिए ।

नेपाली प्रगतिशील कविताका क्षेत्रमा नौला शैलीहरु देखा पर्न थाले । उदाहरणका रुपमा विमल निभाका ‘जुम्ला र शब्दकोश’ वम देवानको ‘आगोको खेती’ र ‘समय द्रौपदी’, विक्रम सुब्बाको ‘सगरमाथा नांगै देखिन्छ’ जस्ता कवितालाई लिन सकिन्छ ।

अहिले सन्चारको क्षेत्रमा भएको अद्भूत विकासले हामीलाई संसारका सबै कुनाका कविता पढ्न सक्ने तुल्याइदिएको छ र अमेजन जस्ता कम्पनीहरुबाट अनलाइन पुस्तक खरीद गरी सानो पर्दामा पढ्न सम्भव तुल्याइदिएको छ ।

यसले हाम्रो साँघुरो क्षितिजलाई विस्तार गर्ने र आफूलाई विश्वमा विशिष्ट पहिचानसहित उभ्याउने अभूतपूर्व अवसर दिएको छ तर हामी आफ्नै समाजसगको अन्तरसंवादमा त्यति बढी चिन्तित देखिएका छैनौं ।

एक उन्नत र विशिष्ट कविताको सिर्जनाका लागि कविले समाजसँगको अन्तरसंवादबाटै पोषण र कलाका विविध आकर्षक उपकरणहरु प्राप्त गर्छ र त्यस्तो कविताले मात्रै मानवद्वेषी राज्यसत्तालाई प्रहार गर्ने क्षमता राख्छ ।

कुनै प्रगतिशील नामधारी संगठन विशेषसँगको संवद्धताले कविले संगठनात्मक बल त प्राप्त गर्ला तर कविताका लागि चाहिने उर्जा प्राप्त गर्न उसको कलाक्षमता नै आवश्यक हुन्छ । यसका लागि विभिन्न प्रकारका जोखिम छन् ।

टर्कीका महान् क्रान्तिकारी कवि नाजिम हिकमतले कथित स्वतन्त्रताको दिक्कलाग्दो अवस्थाबारे एक कवितामा भनेका छन्–

तिम्रा लागि सबैभन्दा नजिकको भएरै त हो
तिमीलाई सबैभन्दा मूल्यवान् लागेरै त हो
तिमी माया गर्दछौं आफ्नो देशलाई
तर एक दिन, मानौं, तिनीहरुले
यो देश अमेरिकालाई सुम्पे भने
र तिमी पनि त्यस महान् स्वतन्त्रतासँगै–
अमेरिकी एअरवेश हुन स्वतन्त्र हुनेछौ ।
(‘अ स्याड स्टेट अफ फ्रीडम’बाट । अनु. श्यामल)

हो नेपालमा पनि कविताको यस परम्परालाई हामीले सम्मान गरेका छौं । मानवीय स्वतन्त्रताको मूल्यलाई हामीले बुझेका छौं । क्रान्तिको महत्तालाई हामीले स्वीकार गरेका छौं । जनताका परिवर्तनका उद्दाम आकांक्षाहरुलाई हामीले आत्मसात गरेका छौं । तर यो सम्मान, यो बुझाई, यो स्वीकार्यता र यो आत्मसातीकरण विभिन्न शैली र भंगिमाका साथ कवितामा उपस्थित हुन जरुरी छ ।

लामो समयदेखि साधनारत कवि श्याम रिमालको यस संग्रहले उनको अनुभव सँगसँगै संग्लिँदै गएको उनको दृष्टिकोण र प्रौढता देखाउने छ । कवितामा सुक्ष्मताले गहिरो प्रभाव उत्पन्न गर्ने क्षमता हासिल गर्दछ । उनी स्थुलबाट सुक्ष्मतिर प्रवेश गर्दैछन् ।

राज्यसत्ताबाट हेपिएको, जिब्रो सुक्दै गएको, भाषा हराउँदै गएको एक कविका नाताले यी सहकर्मीको कविताप्रतिको आशक्तिलाई प्रज्ज्वलित बनाइराख्नु मेरो धर्म हो । उनले पाठकभित्र जीवित प्रवोधनको तृष्णालाई सम्बोधन गर्ने क्षतासम्पन्न कविताहरु दिन सकून्, मेरो शुभेच्छा छ ।

प्रतिक्रिया दिनुहोस्