काठमाडौं । नुवाकोटमा एक पुरुष ६ घण्टादेखि विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर बसेका छन् । शनिबार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका अहिले अपरान्हसम्म पनि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताएका छन् ।

उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका उनले बताए ।
परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयको भनाइ छ । उनलाई तल भुइँमा मासु भात ल्याएर खान आउँ भन्दा समेत तारमै झुण्डिरहेका छन् । उनलाई ओराल्न प्रहरी र स्थानीय लागेका छन् ।
मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको बताइएको छ । विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।














