Logo
Logo

दुई तिहाइका लागि पनि अबको निर्वाचनमा गठबन्धन आवश्यक : उपसभापति खड्का


7.1k
Shares

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले कांग्रेसले सफलता हासिल गरेको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको उद्देश्य प्राप्तिका लागि, कांग्रेसको सङ्कल्प पूरा गर्न, कांग्रेसलाई ठूलो पार्टी बनाउन र गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गर्नुभएको छ ।’ पूर्वगृहमन्त्रीसमेत रहेका खड्काले कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेको पनि दावी गरे ।

‘कांग्रेस एक्लैले पनि दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘अबको निर्वाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक छ ।’

विपी कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्यै जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै खड्काले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हेरेर कम्युनिष्टसँग गठबन्धन गर्नुपरेको बताए।

उनले भने, ‘लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दुक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो, यो गठबन्धनले मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा दुई तिहाइ ल्याउँछ ।’

उपसभापति खड्काले जनताको विश्वासको कडीलाई कांग्रेसले टुट्न नदिने बताउँदै जनताको पक्षमा काम गर्दै जाने दृढता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले शहीद राधेश्याम जोन्छेँको स्मृति भवन र शालिक निर्माणको काम वाग्मती प्रदेशले गर्ने घोषणा गरे । उनले प्रजातन्त्रमा शहीद पत्नी पनि मन्त्री हुने दिन आउँछ भन्ने सन्देश कांग्रेसले दिएको भन्दै कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको दावी गरे ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले कांग्रेसले आगामी सङ्घ र प्रदेशको निर्वाचनलाई लक्ष्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पदमबहादुर पौडेलले शहीद जोन्छेँको स्मृति भवन र शालिक निर्माणका लागि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ३ आना २ पैसा क्षेत्रफल जग्गा प्रतिष्ठानलाई प्रदान गरेको घोषणा गरे ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष तथा वाग्मती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी जोन्छेँले आफ्ना पति शहीद राधेश्याम जोन्छेँले गरेको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्