काठमाडौं । नुवाकोटस्थित विद्युत प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका युवकलाई नेपाली सेनाले उद्दार गरेको छ । अनेक प्रयास गर्दा पनि तारबाट तल झर्न नमानेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
नुवाकोटको ककनी वडा नं ७ मा रहेको ६० मेगावाटको हाइटेन्सन लाइनमा बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक चढेर ओर्लिन मानिरहेका थिएनन् ।
विक शनिबार बिहान ९ बजेदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका थिए । उनलाई बेलुका ५ बजेतिर उद्दार गरि तारबाट तल झारिएको हो ।
विक तारमा झण्डै ६ घण्टा हिँड्दा नेपाल विद्युत प्राधिकरणले पाँच घण्टा विद्युत उत्पादन बन्द गर्नुपरेको थियो । जसका कारण प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ ।














