काठमाडौं । टीकापुर घटनामा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफू दोषी नभएको प्रष्टीकरण दिएका छन् । टिकापुर घटनाको वास्तविकता दोषी राज्यलाई नै थाहा भएको बताउँदै आफू निर्दोष भएको उनले दाबी गरेका छन् ।
चौधरीपत्नी रन्जिता श्रेष्ठले टिकापुर घटनाका दोषीलाई राज्य जोगाएर राखेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ ।’
रञ्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष हुन् । रेशम चौधरीले लेखेर दिएको भनाइ आफूले सामाजिक सञ्जालमा लेखेको उनले बताएकी छन् ।

सरकारले टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट समेत सार्वजनिक नगरेको उनको आरोप छ । ‘टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो । आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भूल स्वीकार्नु होइन ?’ उनले लेखेकी छन् ।
उनले टिकापुर घटनाका दोषीलाई राज्यले राजनीतिक लाभ दिएर हाँसो उठाएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘दोषीलाई राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ, राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’
पछिल्लोपटक सबैले आफलाई निर्दोष भन्न थालेको भन्दै लेखेका छन्, ‘हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपछि अझै हामी जेलमा छौं । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने पूर्व र वर्तमान प्रधानमन्त्रीज्युहरु ? वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पञ्छिन पाइन्छ ?’
२०७२ साल भदौ ७ मा विरोध प्रदर्शन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । घटनामा एक बालकको पनि मृत्यु भएको थियो । उक्त घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, चौधरीले आफू निर्दोष रहेको पटक पटक बताउँदै आएका छन् ।
रन्जिता श्रेष्ठले फेसबुकमा पोष्ट गरेको स्टाटस जस्ताको तस्तै
टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए । राजनीतिक द्वन्द्वले थारु-पहाडीलाई बैरी बनायो । सुरक्षाकर्मी र एक बच्चाको सहादतले हामीलाई पनि पोलेको थियो । तर राज्यले हामीलाई हत्याराको नजरले मात्र हेर्यो । दोषी हामीलाई देख्यो । गर्नसक्ने जति ज्यादती गर्यो । धन, सम्पत्ति, इमान, इज्जत केही बाँकी राखेन । पुनः लेख्दैछु, गुमाउन केही बाँकी छैन ।
वास्तविकता राज्यलाई थाहा छ । दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठउँदा ।
पछिल्लोपटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपछि अझै हामी जेलमा छौं । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने पूर्व र वर्तमान प्रधानमन्त्रीज्युहरु ? वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पञ्छिन पाइन्छ ?
कुरोलाई चुरोमा पु¥याऔं है ! चुनाव जितेर दुई वर्षसम्म विजय प्रमाण पत्र र माननीयको शपथ मलाई किन खुवाइएन ? कुन कानुनले हिजो दिएन र कुन कानुनको धारा, उपधाराले दुई वर्षपछि दिइयो ? कानुन कसैको व्यक्तिगत बपौती हो ? शपथ खुवाएपछि मैले आफ्नो मतदाताको सेवा गर्न पाउनु पर्दैन ? टीकापुरलाई राज्यले जनप्रतिनिधिविहीन बनाउन पाइन्छ ?झ्यालखानामा थुनी राख्ने भए अर्को प्रतिनिधिको चुनाव गराउन पर्दैन ?
राजनीतिमा राज्यको कामै दमन गर्नु हो भन्थे हो रैछ । टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो । आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भुल स्वीकार्नु होइन ?
राज्यसँगै हामी त आफ्नैबाट पनि ठगियौं । त्रेतायुगमा सुनको लंका जलाएर विभिषण राजा भएका थिए रे ! यहाँ पनि हामीलाई आफ्नैले खरानी बनाएर शासन गर्न खोज्दैछन् । मन्त्री त बनिसके ।
गरौंला धेरैले भने तर कहिल्यै भएन । हुन्छ सबैले भन्छन् तर हुँदैन रहेछ । गन्तव्यको सारथी अर्कोलाई बनाएर लक्ष्य भेटिँदैनरहेछ । त्यसैले सडे पनि अलि दिन सडुँला । मन बलियो बनाएर कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने । कसैका सामु नगिडगिडाउने, याचना नगर्ने, किच्चडबाट उम्किन आफैँ प्रयत्न गर्ने ।
बेला भइसकेको त छैन तर विकल्प भएन । यहाँसम्मको राजनीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद । कसैसँग केही गुनासो छैन । धेरै कुरा सिकाउनुभो धन्यवाद । गोता लगाएर मोती भेटाउन नसके पनि राजनीतिक गोताखोर जरुर भइयो । राजनीति यस्तै रहेछ, सत्य असत्य, असत्य सत्य । इमानीभन्दा बेइमानीहरुले अंक बढी प्राप्त गर्दा रहेछन् । कार्यकर्ता बेचेर पद प्रतिष्ठा आर्जन गर्ने प्रचलन रहेछ । झुट, इमान, कार्यकर्ता बेच्ने कलामा निपुन भएपछि बल्ल राष्ट्रवादी नेता भइँदो रहेछ ।
अहिलेसम्म के भोगिएन । के भएँ, के भइनँ । कहिले बजारको खजाना भएँ, कहिले जँड्यहाको गाना बजाना भएँ । कहिले नोटमा चलियो । कहिले भोटमा चलियो । लामो हथौडाको सयौं चोट खपरे अर्काको पूजा कोठामा मूर्ति भै सजिएँ । कसैका लागि हीरामोतीको दाना भएँ । अघोरीको माना भएँ । संसदमा लिलाम भएँ । स्वार्थमा उनकै काम तमाम भएँ । बनियाको धन अनि महाराजको मन भइयो ।
अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् ।














