Logo
Logo

‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक


378
Shares

काठमाडौं । अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीद्वरा लिखित पुस्तक ‘दसलिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक गरिएको छ ।

पुस्तकमा लिम्बू समुदायको धर्म, दर्शन, मुन्धुम, गोर्खा–सिक्किम लडाइँ, गोर्खा–लिम्बुवान लडाइँ, लिम्बूवान र सिक्किमको सम्बन्ध, याक्थुङ्बा लिम्बू र सेन राजासँगको सम्बन्ध, दशलिम्बुका नीतिहरू, दसलिम्बु लगायत सामग्री समेटिएका छन् ।

आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भट्टराईले मुलुक अहिलेको अवस्थामा आइपुग्नुमा विभिन्न जातजाति, भाषाभाषीको योगदान रहेकाले यसलाई भुल्न नहुने बताए । सबैको भाषा, संस्कृति बुझेर चिनारी गरिनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले लिम्बुको इतिहास लेखनमा पुनर्जागरण भएको बताए । खोज, अनुसन्धान गरी लेखिएका पुस्तकले विगतका कमी कमजोरी सच्याउन सहयोग पुग्ने उनको भनाइ थियो ।

पूर्वराज्यमन्त्री सीता गुरुङले नेपालको पूर्वी भागमा लिम्बुकै इतिहासको महत्व रहेको बताए । लिम्बु जातजातिका थप इतिहासको खोजी गरी प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ रहेको छ ।

पुस्तकका विषयमा समीक्षा गर्दै प्राध्यापक बालकृष्ण माबुहाङ र मदन पुरस्कार विजेता भगीराज इङ्नामले नेपालमा बसोवास गर्ने प्रत्येक जातजातिका विषयमा यस्ता खोजपूर्ण पुस्तक सार्वजनिक गरिनुपर्नेमा जोड दिए । लिम्बु जातिका विभिन्न पक्षका विषयमा खोज गरी लेखिएको पुस्तक उपयोगी हुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्