
विराटनगर । प्रदेश १ को नामाकरण यसै अधिवेशनबाट टुङ्ग्याउने विषयमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमित भएको छ ।
नेकपा एमाले प्रदेश संसदीय दलले प्रदेश १ को नामाकरणबारे छलफल गर्न गठन गरेको कार्यदलले गरेको छललफलका क्रममा एमाले र कांग्रेसबीच यसै अधिवेशनबाट प्रदेशको नाम टुङ्ग्याउने सहमति भएको हो ।
एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् । आजको संसद बैठक सम्पन्न भएपछि प्रदेश १ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारी दिए ।
यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।
केही दिनयता प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेश १ को नामाकरणको विषय टुंग्याउनका लागि एमाले कै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए । प्रदेशसभाका सांसदहरुले प्रदेशको यही अधिवेशनबाट नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् ।











