
काठमाडौं । संसदीय समितिले आसन्न अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिसिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेदेखि अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको थियो ।
त्यस्तै बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समितिमा बोलाउने निर्णय गरेको सभापति पबित्रा निरौलाले जानकारी दिइन् । बैठकमा समिति सदस्यले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए ।
सांसद माधव कुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए । त्यस्तै सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण व्यवस्थापनमा नै प्रश्नचिन्ह उठेको बताए ।
त्यस्तै सांसद भीम रावलले समितिमा जानकारी गराउदा प्रधानमन्त्रीले अपमानका रुपमा सोच्न नहुने बताए ।











