Logo
Logo

सांसद चौधरीकाे प्रश्न- एउटैलाई सधैं मन्त्री बनाइरहने ?, हामी सांसद होइनौं ?


1.3k
Shares

काठमाडौं । कांग्रेस सांसद पार्वती डीसी चौधरीले मन्त्रीका कारण पार्टीको बेइज्जत भएको बताएकी छन् ।

सत्ता गठबन्धनले काम गर्न सक्ने र सक्षमलाई मन्त्री बनाउनुपर्ने उनको भनाइ छ । ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि खुट्टो उचाल्दै जाने । अहिले पनि । कस्तो मज्जाको क्या !,’ उनले सोमबार संसदमा भनिन्, ‘अरु त सांसदै होइनन् जस्तो । यती धेरै सांसद छौं हामीहरू, त्यही एउटै मान्छे जहाँ गएपनि मन्त्री भइरहने रे ।’

कृषिमन्त्री महिन्द्र राय यादवप्रति लक्षित गर्दै उनले अगाडी भनिन्, ‘तपाईहरू जस्तै मन्त्री भएकाकारण प्रधानमन्त्रीले काम गर्नसक्नुभएको छैन । यसले कांग्रेस पार्टीकै बेइज्जत भएको छ ।’रासायनीक मलका विषयमा संसदमा छलफल हुँदा कृषिमन्त्री भने लापत्ता भएको चौधरीले आरोप लगाइन् ।

‘संसदमा मलका विषयमा यति धेरै प्रश्न उठे । तर, कृषिमन्त्री गायब हुनुभयो । यो सदनप्रतिकै अपमान हो,’ उनले भनिन्, ‘किसान मल नपाएर छटपटाइरहेका छन् । यस्तो बेलामा विदेश जानु ठीक होइन ।’ किसानलाई सरकारले जसरी पनि मल दिनुपर्ने उनले बताइन् ।

‘किसानलाई मार्न पाइन्न । हाम्रो त महिना मर्दा घण्टी बज्छ । तलब आउँछ,’ सांसद चौधरीले भनिन्, ‘त्यो किसानले खेति गर्न पाएन भने उसको बच्चा भोकै मर्दैन ? तपाई मन्त्रीभन्दा पीडा हामीलाई छ ।’

गठबन्धन सरकारले यसमा ध्यान दिएर काम गर्न सक्नेलाई मात्र मन्त्री बनाउनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्