
काठमाडौं । तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन ।
केही दिनदेखि चितुवाको त्रास बढेको छ । बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा ४ दिनको अवधिमा ३ पटक चितुवाको आक्रमण भएको छ । चितुवाको आक्रमणबाट १ बालकको मृत्यु भएको छ भने १ बालिका र १ पुरुष घाइते भएका छन् ।
मंगलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । बालकको शव घरभन्दा २ सय मिटरमाथि जंगलमा भेटिएको थियो । शनिबार बन्दीपुर–४ टावरमा ८ वर्षीया रियाना थापा र आइतबार बन्दीपुर–१ मा ३५ वर्षीय भीमलाल गरञ्जालाई चितुवाले आक्रमण गरेर घाइते बताएको थियो ।
चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दीपुर–४ का सन्तोष थापाको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताइन् ।
नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरे ।











