काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरित कुनै पनि सम्झौता नगर्ने बताएका छन् । अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्नेगरी अमेरिकासँग कुनैपनि सम्झौता नगर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बुधबार बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै प्रधानमन्त्री देउवाले मुलुकको हितमा नहुने सम्झौता नगर्ने बताउँदै एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा भएको बताएका छन् ।
प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको समेत प्रष्ट्याएका थिए ।











