Logo

अब संरचना होइन, व्यक्ति बलियो हुनुपर्छ- मनोज पण्डित (भिडियो)


मनोज पण्डित, चलचित्र निर्देशक


काठमाडौं । सिनेमा जगतमा परिचित नाम हो– मनोज पण्डित । ग्रेटर नेपाल, दासढुंगा, बधशाला जस्ता गम्भीर विषयमा सिनेमा बनाएका मनोज अब राजनीतिक यात्रामा छन् । उनले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटासँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । सिनेमामार्फत निर्मम रुपमा सत्ता र शासकलाई प्रश्न गर्ने मनोजले के सोचेर राजनीतिक यात्रा तय गरे ? फगत चर्चाको खपत खोजेका हुन् या साँच्चिकै राजनीतिबाट परिवर्तन हुन्छ भन्ने बुझेका होलान् ? यावत विषयमा गरिएको कुराकानी प्रस्तुत छः

सिनेमा क्षेत्रमा छुट्टै पहिचान थियो । आज, किन राजनीति रोज्नुभयो ?
मैले बनाएका सबै सिनेमाको केन्द्रविन्दु राज्य हुन्थ्यो । यहाँका समस्याहरु थिए । तर, सिनेमाले उठाएका विषयवस्तुभन्दा पनि सिनेमा कस्तो बन्यो ? भन्ने कोणबाट मात्र लिइयो । समस्या ज्युँकात्यूँ रह्यो । सिनेमामा कराइराख्ने काम मात्र भयो । त्यसपछि लाग्यो– सिनेमा मात्र भएर पुग्दैन । मेरो पोलिटिकल नलेजले योगदान गर्ने ठाउँ अझै फराकिलो छ भन्ने भएपछि कुनै दिन राजनीतिमा आउनुपर्छ भन्ने लागिरहेको थियो । गोकुल बास्कोटाको ७० करोड भ्रष्टाचारसम्बन्धी भिडियो हेरिसकेपछि एकदम ह्युमिलेसन फिल भयो । गोकुल बास्कोटाले ७० करोड खाए भन्ने त थाहा पाइसकेका थियौं । मुख्य कुराचाहिँ– गोकुल बास्कोटाले ‘मैले ७० करोड खाइदिया हो, कसको बाउको के खाइदिए ?’ भनिरहँदा पनि ताली बजाउने समाज कस्तो बनाएछौँ ? कस्तो समाजको विकास भएछ ? जहाँ भ्रष्टाचारी खुलमखुला हिँड्न सक्छ । मैले करोडौंँ खाइदिया हुँ भन्न सक्छ, अनि ताली बज्छ ! जुन तालीले मलाई ह्युमीलेसन फिल गराएपछि राजनीतिमा पाइला चालेको हुँ ।

व्यक्तिविरुद्ध सुरु भएको बिद्रोहबाट परिवर्तन सम्भव हुन्छ ?
मलाई समाधान चाहिएको छ । त्यसैले म समाधान खोज्छु । समाधानका लागि यथास्थितिसँग बिद्रोह गर्नुपर्छ । तर, बिद्रोह मात्रै सम्पूर्णता होइन । लक्ष्य बिद्रोह मात्र होइन । लक्ष्य समाधान हो । समाधानका लागि यथास्थितिका मान्यताहरुले पारेका असरहरुमा असहमति जाहेर गर्नुपर्छ । समाधानको पहिलो खुड्किलो बिद्रोह हो ।

तपाईंको उम्मेदवारी व्यक्तिसँगको टसल मान्ने कि समग्र प्रकृयाविरुद्धको बिद्रोह ठान्ने ?
गोकुल बास्कोटा अहिले व्यक्ति होइनन् । यो त प्रवृत्ति बन्यो । मेरो असहमति, गोकुल बास्कोटाहरु जन्माउने संरचनासँग हो । गोकुल बास्कोटालाई जोगाइराख्ने र गोकुल बास्कोटाको भ्रष्टाचारमा ताली बजाइराख्ने संरचनासँग हो । यस अर्थमा, मेरो संघर्ष काभ्रेको एक व्यक्ति गोकुल बास्कोटासँग मात्र होइन समग्र प्रकृयासँग हो । भ्रष्टाचारीलाई जोगाउने संरचनासँग हो ।

तपाईंको उपस्थितिले सन्देश दिन्छ कि परिवर्तन ल्याउँछ ?
सबैभन्दा शक्तिशाली केही चिज छ भने त्यो ‘कत्थ्य’ हो । न्यारेटिभ हो । भ्रष्टाचारीलाई जोगाइराख्नु हुँदैन, भ्रष्टाचारीलाई स्वीकार गरिराख्नु हुँदैन, मानविय स्वाभिमान खोज्ने हो भने, मानवीय स्वतन्त्रता खोज्ने हो भने हामीले भ्रष्टाचारविरुद्ध लड्नुपर्छ, भ्रष्ट संरचनाविरुद्ध लड्नुपर्छ, भन्ने न्यारेटिभ स्थापित गर्नुछ । भ्रष्टाचारविरुद्धको न्यारेटिभ स्थापित गर्ने क्रममा मेरो क्षेत्र (काभ्रेपलञ्चोक–२)को भएकाले गोकुल बास्कोटा होलान् । यहाँ हजारौं गोकुलहरुसँग ठाउँ–ठाउँमा लड्नुपर्छ भन्ने सन्देश हो, मेरो उपस्थिति ।

बहुदलीय व्यवस्थामा एक्लो व्यक्तिबाट यी सबै कुरा सम्भव छ ?
भीडबाट निर्णय गर्ने वर्तमान संरचनाको ठूलो समस्या हो । भीडसँग लड्न अर्को भीडले सम्भव छैन । भीडसँग संघर्ष गर्न सक्ने व्यक्तिले मात्र हो । संसारमा केही शक्तिशाली छ भने त्यो व्यक्ति हो । यो सम्पूर्ण प्रकृया व्यक्तिबाट सुरुवात भएको हो । व्यक्ति छ त संसार छ । लडाइँ बहुदलीय भीडसँग स्वतन्त्र भन्ने होइन । ‘भीड सेन्ट्रिक’ मनोविज्ञानसँग स्वतन्त्र व्यक्तिको न्यारेटिभले लड्ने हो । स्वतन्त्र भनेको व्यक्ति म होइन । यहाँ मनोज पण्डित एकजना उठेर एकजना हुँदैन । मसँग कत्थ्य छ– अति भइसकेको छ । अब हामीलाई यथास्थितिबाट परिवर्तन चाहिएको छ । त्यसकारण यो क्रान्तिको छनक हो । हिजोका क्रान्ति ‘भीड सेन्ट्रिक’ थियो । अब व्यक्तिबाट अर्को क्रान्तिको प्रकृयामा अगाडि बढ्ने छ ।

जनअभिमत प्राप्त शक्तिबाट ठीक ढंगले शासन सञ्चालन हुँदैन भन्ने हो ?
विगतमा कसरी जनमत निर्माण भयो भन्ने हो । नेपाली जनताले पुरानो राजनीतिक विचार परिवर्तन गरेर ३० वर्षसम्म हेरिसके । नयाँ विचारहरुबाट मुक्ति होला भनेर सोचिरहे । तर, समस्या समाधान नभएपछि ‘यो आइडोलेजिमा केही समस्या छ’ नयाँ विचार वा सिद्धान्त खोज्नुपर्छ भनेर हामी जस्ता मान्छेहरु लागिपरेका हौँ । मानिसका लागि सबैभन्दा ठूलो केही समस्या छ भने त्यो इन्टिच्यूसन अर्थात संरचना हो । त्यसैले अब व्यक्तिले संरचनासँग लड्नुपर्छ । अहिले जुन इन्टिच्यूसन सेन्ट्रिक पोलिटिकल डाइमेन्सन छ, यसलाई इन्डिभिजुल सेन्ट्रिक पोलिटिक स्ट्रक्चरको रुपमा विकास गर्नुपर्छ ।

व्यक्ति केन्द्रित संरचनाले नियन्त्रण बाहिर लैजाँदैन ?
इन्डिभिजुअल भनेको नियन्त्रण नहुने कुरा भन्ने बुझाइ छ । त्यसैले मानिसलाई पशुझैँ नियन्त्रण गर्नुपर्छ भन्ने पोलिटिकल न्यारेटिभ बनेको हो । हामीलाई संरचनाले नियन्त्रण गरोस् भन्ने लाग्छ । तर, मानिसको अन्तिम चाहना स्वतन्त्रता हो । स्वतन्त्रताको अर्थ अराजकता होइन । शक्तिलाई आफ्नो मुठीमा राखेर जनतालाई ‘तिमीहरु कन्ट्रोल हुनुपर्छ, मैले नै कन्ट्रोल गर्नुपर्छ, हामीले नै कन्ट्रोल गर्नुपर्छ नत्र तिमीहरु उत्तेजित भएर अराजक हुन्छौं’ भन्नेहरुले व्यक्ति अराजक हुन्छ भन्ने न्यारेटिभ स्थापित गरे । त्यो नै गलत हो ।

वर्तमान व्यवस्था त्यागेर अर्को व्यवस्था रोजौँ भन्न खोज्नुभएको हो ?
हामीमा राजनीतिक चेतको सीमितता छ । हामी शासन प्रणाली र शासकलाई नै बलियो बनाउनुपर्छ भन्छौं । जति बलियो शासन प्रणाली भयो त्यति नै मान्छे खुशी हुन्छ भन्छौँ । के शासक बलियो हुँदा मान्छे खुशी हुन्छ त ? के तपाईं सबैभन्दा धेरै राज्य नियन्त्रित भएर खुशी हुन सक्नु हुन्छ त ? यो गम्भीर प्रश्न हो । सत्ता बलियो भएको कुन देशका मानिस खुशी हुन्छन् ? जहाँ सरकार अदृश्य अवस्थामा रहन्छ, त्यहाँ हो नि मानिस सबैभन्दा खुशी हुने । हामीलाई सरकार चाहिएको सहजीकरणका लागि हो, नियन्त्रणका लागि होइन । अझै बढी नियन्त्रण चाहिन्छ भन्ने मनोविज्ञानविरुद्ध म के भनिरहेको छु भने– व्यक्तिको स्वतन्त्रता राज्यनियन्त्रित संरचनाबाट सम्भव छैन । व्यक्तिले मात्र हो, व्यक्तिको समस्या बुझ्ने । हामीले व्यक्तिबाट मात्रै व्यक्तिको समस्या समाधान हुन्छ भन्ने बुझ्ने हो भने संसारले अर्कै स्वरुप लिन सक्छ । त्यो समयमा वर्तमान व्यवस्था स्वतः कमजोर हुन्छ । त्यस्तो अवस्थामा यही व्यवस्थालाई बचाइराख्नु पर्छ भन्ने हुँदैन ।

तपाईंले परिकल्पना गरेझैँ व्यक्तिबाट शासन सम्भव छ यहाँ ?
जहाँ प्रगतिको विन्दु उच्च छ, त्यहाँ खुशीको मात्र उच्च हुन्छ । त्यहाँ रुलिङ फ्याक्टर कमजोर भएर गएको छ । मानिस आफँै सचेत हुँदै गएका छन् । मानिस सचेत हुँदै जाने र रुलिङ फ्याक्टर कमजोर हुने अवस्थामा मानिसको खुशी निर्माण हुनलाई के समय लाग्छ त ? तर, आज चाहिँ के लाग्छ भने– ओहो यो सम्भव छैन ! तर, सम्भव हुँदै आएको छ । यहाँ भएको छैन होला अरुतिर सम्भव भएको छ । सरकार एकदम बलियो भएन भने सबै ध्वस्त हुन्छ भन्ने न्यारेटिभको सिकार भएका छौं । डर लागिरहेको छ । तर, जब हामी डरबाट मुक्त हुन्छौं, जब आफैं सचेत बन्छौं, तब भन्छौं– हामीलाई नियन्त्रण गर्ने सरकार चाहिँदैन । हामीलाई बन्दुक बोकेका सरकार चाहिँदैन ।

तपाईंलाई वर्तमान संरचना बेठीक लाग्छ । तर, सोही संरचनामा प्रवेश गर्ने बाटो अर्थात निर्वाचनमा सहभागी हुने घोषणा गर्नुभएको छ । के तपाईंले सोचेको परिवर्तन त्यो संरचनाबाट सम्भव छ ?
पोलिटिकल कन्टेक्समा सबैभन्दा ठूलो अभाव भनेको न्यारेटिभ हो । हामीसँग कुनै न्यारेटिभ छैन । हामी कत्थ्यविहीन समाज विकास गर्दैछौं । हामी सपनाविहीन समाजको अस्तित्वमा छौं । मलाई त्यो ठाउँमा पुगेर बोल्नु छ । मैले त्यहाँ बोलेका कुराहरुले डिस्कोर्स बन्छ । केही कत्थ्यहरु स्थापित गर्नुछ । अहिले संसदभित्र गालीबाहेक केही छैन, त्यहाँ डिस्कोर्स छैन । त्यसैले संसद भवनमा पोलिटिकल डिस्कोर्स गर्नका लागि ठूलो योगदान गर्न सक्छु भन्ने मलाई विश्वास छ ।

आफैंलाई बेठीक लाग्ने संरचनामा प्रवेश गरेर बदल्छु जस्तो लाग्छ कि बदलिन्छु जस्तो लाग्छ ?
बदल्छु भनेर गएका र बदलेर फर्केको थुप्रै यर्थातहरु छन् । त्यसैको परिणाम देश यस्तो अवस्थाम पुगेको हो । गोकुल बास्कोटाहरु बदल्छु भनेर गएका हुन्, ओलीहरु बदल्छु भनेर गएका हुन्, प्रचण्डहरु पनि बदल्छु भनेरै गएका हुन् । आज उनीहरु बदलिएको देखेर हामी निराश भएका हौं । मेरो सेन्ट्रल न्यारेटिभ के छ भने– म व्यक्तिमा समस्या देख्दिन । संरचनामा समस्या देख्छु । हामीले राजाहरु बदल्न खौज्यौँ, वास्तकमा बदल्नुपर्ने दरबार थियो । दरबार राखेर राजाहरु परिवर्तन गरियो । दरबारले राजा बनाउने हो । त्यसैले जबसम्म दरबार रहन्छ, तबसम्म राजाहरु बनाइरहन्छ । राजाले दबार बनाएको होइन रहेछ । संसद ठूलो दरबार हो । म त्यहाँ प्रवेश गर्नुको अर्थ त्यसैलाई भत्काउनका लागि हो । म संसदमा प्रवेश गर्नुको अर्थ म त्यसको अंग बन्न होइन ।

ठूला–ठूला राजनीतिक आन्दोलनबाट स्थापित नेता बदल्न गए तर बदलिएर निस्के । तपाईं एकजना गएर बदल्ने कुरा कसरी सम्भव छ ? कसरी विश्वास गर्ने ?
प्रश्न विश्वासको होइन । तत्काल विश्वास गर्न सकिने कुरा पनि होइन । विगतका दल यथास्थितिको संरचना बलियो बनाउन गएका थिए । आज म संरचना कमजोर बनाउनुपर्छ भनिरहेको छु । संरचनाको अंग बन्नु छैन, व्यक्ति बलियो हुनुपर्छ भन्ने हो । संरचना होइन व्यक्तिलाई बलियो बनाउनुपर्छ भन्ने कुरा अहिले र्याडिकल कुरा हो । तर, अबचाहिँ संरचना होइन व्यक्ति बलियो बन्नुपर्छ भन्ने समय आयो । व्यक्तिले मात्र व्यक्तिको समस्या समाधान गर्न सक्छ । संरचनाको परिधिमा हुर्केका हामीलाई संरचनाइतर कुरा गर्दा डर लाग्न सक्छ । हामीलाई संस्थाले बनाएको छ । त्यसैले हामी संस्थाभन्दा बाहिरको कुरा सोच्नै सक्दैनौं । संस्था भनेको नन् ह्युमेनविङ हो, मान्छे होइन त्यो । हो, त्यसलाई इनभिजिवल बनाउने मेरो लक्ष्य हो ।

वर्तमान संरचनालाई सुधार्न खोज्दै हुनुहुन्छ कि ‘एन्टी करेन्ट’मा बग्दै हुनुहुन्छ ?
म यी दुवै होइन । म व्यक्ति बलियो हुनुपर्छ भनिरहेको छु । तर, यहाँ वैकल्पिक शक्तिको नाममा एउटा दलको सट्टा अर्को दलको कुरा हुने गरेको छ । अब स्वतन्त्रहरुको दल बन्नेवाला छ । अर्थात, संरचनाबाट बन्ने दलभन्दा बाहिरिको कुरा सोच्न सक्ने मान्छे नै छैन । तर, म त्यसो भनिरहेको छैन । मैले भन्ने कुरा के हो भने– वर्तमान संरचनाले व्यक्तिलाई सबै भन्दा गौण बनाइरहेको छ । मान्छेको पोलिटिकल भ्यालुलाई सबैभन्दा गौण मानेको छ । म त्यसको विपक्षमा छु । अर्थात, संरचना होइन व्यक्ति बलियो हुनुपर्छ भन्ने हो ।

तपाईंले भनेझैँ यहाँका मानिस अधिकारका दृष्टिले साँच्चिकै कमजोर छन् वा यसलाई त्यसै मुद्दा बनाउँदै हुनुहुन्छ ?
हामी मानिस बलियो छौं भन्ने लाग्छ ? तपाईं कुनै कुरा सेल्फ डिसाइड गर्न सक्नु हुन्छ ? पाँच वर्षमा मत जाहेर गर्ने अवसर पाइन्छ । तर, हामीलाई राजनीतिक रुपमा असहमति जनाउने ठाउँ छ ? हामीलाई त्यो विकल्प दिइएको छ ? हामीलाई निश्चित संरचनाभित्र जीवनका सम्पूर्ण अर्थ खोज्नुपर्ने बाध्यतामा राखिएको छ । यस अर्थमा कोही कमजोर छ भने व्यक्ति छ । यहाँ मानव अधिकार सत्ताले परिभाषित गर्छ । हामीले जे कुरालाई हाम्रो अधिकार भनिरहेका छौं, त्यो सत्ताले परिभाषित गरेको कुरा हो । त्यसैले व्यक्ति सबैभन्दा डरमा बाँचेको छ । व्यक्तिलाई सबैभन्दा दबाब छ । पुँजीवादी समाजमा व्यक्ति वस्तु बनेको छ । अर्काले मूल्य तोकिसकेको छ, व्यक्तिले मेरो मूल्य यो हो भन्ने ठाउँ छैन । मानिस सबैभन्दा कमजोर भएको अवस्थाको प्राणी हाैं हामी ।

समाजविहीन अवस्थाको परिकल्पना गर्दैछु जस्तो लाग्दैन ?
हामी समाजविहीनताको परिकल्पना गर्न सक्दैनौं । व्यक्ति थियो, परिवार भयो । त्यसरी नै संरचना विकास गर्दै आएको हो । हामीलाई कन्ट्रोल गर्ने संचना चाहिन्छ भनेर संरचना विकास गरिएको हो । समयको आवश्यकताले सत्ता र नियन्त्रण आवश्यक ठान्यो । तर, मानिस खुशी भएनन् । त्यसैले राजनीतिक परिवर्तनहरु हुँदै आए । त्यसैले यथास्थितिमा परिवर्तन आवश्यक भइसकेको छ । अब मानिसले आन्तरिक राजनीतिक मुक्ति खोज्छ । मानिसका अनेक दुःख छन् । त्यसैले अब मानिसले खोज्ने भनेको राजनीतिक मुक्ति हो । यो राजनीतिक मुक्तिको बाटोले मानिसलाई सुख दिन्छ ।

राजनीतिक दल चाहिँदैन भन्दै हुनुहुन्छ । कालान्तरमा कुनै राजनीतिक दलमा विलय हुने वा आफैं राजनीतिक दल गठन गर्ने सम्भावना पनि त होला नि ?
म राजनीतिक पार्टीहरुको विरुद्धमा छु । अर्को राजनीतिक दल आवश्यक छैन भन्ने पक्षमा छु । राजनीतिक दलहरुले व्यक्तिको समस्या समाधान नगरेका कारण व्यक्ति बलियो हुनुपर्छ भन्ने गरेको हुँ । अब कुनै राजनीतिक दल बन्नुपर्छ भन्ने कुरामा विश्वास गर्दिनँ । भएका दलबाट पनि केही सम्भव छैन । संरचनाबाट मानविय समस्या समाधान हुँदैन भन्नेमा स्पष्ट छु ।

राजनीतिक दलबाट शासन संचालन हुनुपर्छ भन्ने संरचनात्मक व्यवस्था भत्काउन त्यति सजिलो छ र ?
सजिलो छैन । तर, सम्भव छ । हरेक कुरा व्यक्तिबाट सुरु भएको छ । आजका सबै वैज्ञानिक विकासहरु व्यक्तिको चाहनामा सम्भव भएको हो । व्यक्तिबाट नै संसारको परिवर्तन भएको हो । शासकहरुले त व्यक्तिले बनाएका कुराहरुलाई नियन्त्रण गरेर प्रयोग गरेका मात्र हुन् । त्यसैले भन्छु– संसारमा केही बलियो छ भने, व्यक्तिको चाहना र व्यक्तिको ज्ञान हो ।

कति संघर्ष गर्दा वर्तमान संरचना भत्केर व्यक्ति बलियो हुन्छ भन्ने लाग्छ ?
व्यक्ति स्थापित भयो भने के होला ? भन्ने सबैमा डर छ । यस्तो अवस्थामा व्यक्ति बलियो हुनुपर्छ भन्ने न्यारेटिभ स्थापित हुन वर्षौ लाग्छ । किनभने आजको अवस्थामा व्यक्तिले व्यक्तिलाई पत्याउँदैन । त्यस कारण व्यक्ति कमजोर भएको हो । सत्ताले यस्तो बनाएको हो । व्यक्ति सबैभन्दा मूल्यवान हो भन्ने न्यारेटिभ्स स्थापित गर्न समय लाग्छ । जुन दिन यो कुरा स्थापित हुन्छ, त्यो दिन संरचनाहरु कमजोर हुन्छन् । त्यसपछि अर्को व्यवस्थापनको अवस्था विकास हुन्छ ।

प्रसंग त गोकुलसँगै जोडिन्छ । गोकुल एउटा प्रवृत्ति बन्यो भन्ने छ । गोकुल बास्कोटासँग कुरा हुन्छ कि हुँदैन ?
रमाईलो संयोग छ । धुलिखेल नगरपालिकाले सम्मान कार्यक्रम गरेको थियो । विशेष अथिति गोकुला बास्कोटा थिए । केपी शर्मा ओली प्रमुख अथिति । त्यही कार्यक्रममा ओलीले ‘काभ्रे प्रतिभा जन्माउने थलो हो’ भने । त्यसपछि टुप्लक्क गोकुललाई हेरेर मुस्कुराए । हामीलाई सम्मान गर्ने कार्यक्रम भएकाले हामीलाई भनेका होलान् भन्ने लागेको थियो । तर, उहाँले भन्नुभएको चाहिँ गोकुललाई रहेछ । त्यसको केही दिनपछि त ७० करोडको भिडियो आयो । भिडियो आएपछि मलाई त्यो पुरस्कार यति बोझ भयो कि भन्नै सक्दिनँ । भन्नुको मतलव गोकुल बास्कोटासँग मेरो सम्बन्ध त्यतिमात्र हो । भनेको ‘काभ्रे प्रतिभा’वाला सम्बन्धबाहेक केही छैन ।

गोकुलविरुद्धको उम्मेदवारी घोषणापछि के प्रतिकृया पाउनुभयो ?
जब गोकुलविरुद्ध उम्मेदवारी घोषणा गरे, सबैभन्दा पहिले बुबाले विरोध गर्नुभयो । बुबाले के भन्नुभयो– ‘त्यो कम बलियो छ, त्यस्ता मान्छेसँग प्रतिस्पर्धा गर्न सक्छस् ? यो ‘आकाशको फल आँखा तरि मर भनेजस्तै हो’ भन्नुभयो । अहिले मलाई के लाग्छ भने गोकुल बास्कोटा विचरा मान्छे हो । ७० करोड भ्रष्टाचार गर्नुपर्ने बाध्यतामा अल्झेका मान्छे हुन् । केही न केही संरचना उनलाई भ्रष्टाचार गर्नका लागि बाध्य बनाएको होला नि । यस अर्थमा गोकुल बास्कोटा मात्रै होइन, अरु पनि गोकुल जस्तै प्रवृत्तिका व्यक्ति छन् । जनतालाई को छान्ने भन्ने अप्सन नै छैन । जनता पीडित छन् । त्यस्तो अवस्थामा म उनीहरुका लागि नयाँ आइडिया हुन सक्छु ।

यो झुर प्रश्न हुनसक्छ । तर, सोध्न मन लाग्यो । तपाईंलाई जित्छु भन्ने लाग्छ ?
मैले जुन दिन उम्मेदवारी घोषणा गरेँ, त्यो दिन मसँग ३ भोट थियो । मलाई मेरो बुबाको पनि भोट आउने छैन । अहिले काम गर्दै जाँदा जित्छु भन्ने लागिरहेको छ । तर, त्योभन्दा पनि हार्दिन भन्नेमा विश्वस्त छु । म के कुरामा हार्दिन भने, म जे न्यारेटिभ बोकेर अघि बढेको छु, त्यो कुरा स्थापित गर्छु । जित्ने या हार्ने कुरा अंकमा निर्भर हुन्छ । त्यो अंकको प्रकृयामा म ३ भोटबाट हजारौं भोटमा पुगिसकेको छु । त्यो यात्र कठिन छ भन्ने मलाई थाहा छ । मेरो लक्ष्य ३३ हजार ३ सय ३३ मत हो । किनकि, जितका लागि ३३ हजार ३३३ मत ल्याउनैपर्छ । म आवश्यक मत प्राप्त गर्ने लक्ष्यमा छु ।

थोरै सिनेमाको कुरा गरौं । अब तपाईं फिल्म बनाउने किन नबनाउने ?
म सांसद भएपनि फिल्म बनाउनेवाला छु । सांसदकै बारेमा फिल्म बनाउनेवाला छु । यो होल पोलिटिकल गर्भनेन्सकै बारेमा फिल्म बनाउनेवाला छु । मलाई सिंहदरबार भत्काउनु छ । मेरो गोल पूरा गर्नका लागि सिनेमामा पनि त्यो परिकल्पना गर्छु । अब त मेरो लागि सिनेमा राजनीतिक हतियार हो । अब व्यक्तिलाई बलियो बनाउने सिनेमा बनाउँछु ।

सिनेमाले राजनीतिलाई सानो पाटोका रुपमा मात्र हेर्छ । तपाईं सिनेमा क्षेत्रमा विरक्तिएर राजनीतिमा आउनुभयो भन्दा के हुन्छ ?
म सिनेमाबाट सुसूचित भएको हो । विरक्तिएर राजनीतिमा आएको होइन । ग्रेटर नेपाल बनाउने समयमा संविधान लेखनको चरण थियो । त्यो समयमा म सात दलका ठूला नेताहरुसँग डिस्कोर्समा थिए । त्यो बेला म आफूलाई ‘म’ महशुस गर्थे । र, अहिले महशुस गरिरहेको छु । म अहिले के गर्दा मानिसलाई खुशी बनाउन सकिन्छ भन्ने बाटोहरु देखिरहेको छु । मलाई त्यहाँ आनन्द आइरहेको छ ।

भनेपछि, सबै कुरा राजनीतिबाट मात्र सम्भव छ भन्ने निष्कर्षमा पुग्नुभयो ?
जिन्दगीको सबैभन्दा ठूलो ‘डिसाइडिङ फ्याक्टर’ नै राजनीति हो । हामी पोलिटिकल कन्टेक्सभन्दा बाहिर छँदैछैनाैँ । ‘आइ हेट पोलिटिक्स’ भनेर मानिसको दिमागमा गलत न्यारेटिभ स्थापित गरियो । जीवनका हरेक कुरामा राजनीति नै निर्णायक हुन्छ भने कसरी राजनीतिभन्दा बाहिर हुन सकिएला ? अब हरेक मानिसले राजनीति गर्नुपर्छ किनभने, जुन–जुन समयमा सबै मानिसले राजनीति गरेका थिए, त्यो त्यो समयमा राजनीतिक परिवर्तन भएको छ ।

प्रतिक्रिया दिनुहोस्