Logo
Logo

पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर नै भएको ठहर


756
Shares

काठमाडौं । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै भएको सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले ठहर गरेका छन् ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) विहीबार काठमाडौंमा आयोजना गरेको ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो ठहर गरेका हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले तत्कालिन नेपाल पत्रकार संघ वि.सं. २००८ सालमा स्थापना भएको सही भएको र त्यतिबेलाका सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको विभिन्न लिखत र दस्तावेजले प्रष्ट पारे पनि महासंघले अझै त्यसलाई स्वीकार नगरेको बताए ।

संस्थापक अध्यक्षको विषयमा अध्ययन अनुसन्धान गर्न आवश्यक रहेकाले महासंघले त्यसका लागि यही कार्यकालमा अध्ययन समिति गठन गरी काम गर्ने उनले प्रतिवद्धता जनाए ।

इतिहासलाई बंग्याउने छुट कसैलाई नभएकाले अग्रजहरुको सम्मानमा कुनै कमी आउन नदिइने उनले बताए ।

फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले इतिहासको सम्मान सबैले गर्नुपर्ने बताए । महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य सही भएपनि महासंघले अझै स्वीकार नगर्नु विडम्बनापूर्ण रहेको बताए ।

संस्थापकको सम्मान नगरिए त्यसको कडा प्रतिवाद गरिने उनले चेतावनी दिए । महासंघ सबैको साझा संस्था भएकाले इतिहासको सम्मान नगरिए त्यसमा सबैको अपनत्वबोध नहुने उनले चर्चा गरे ।

फोनिजका सल्लाहकार खिम घलेले संस्थापकको विषयलाई जति छिटो टुङ्गोमा पुगाउनसके त्यति सहज हुने बताए । अहिलेसम्मको तथ्यले संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई स्वीकार गरेकाले उनलाई मान्नुपर्ने उनको सुझाव छ ।

महासंघले स्वतन्त्र समिति गठन गरेर त्यस विषयमा अध्ययन प्रतिवेदन तयार गर्न सक्ने पनि उनले बताए । कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्नुको कारणबारे अझै महासंघले प्रष्ट पार्न नसकेको उनले टिप्पणी गरे ।

फोनिजका अध्यक्ष गजुरधन राईले संस्थापकको विषयमा महासंघले न्याय गर्नुपर्ने बताए । संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको लिखतले बोल्नेगरेकाले तथ्यलाई स्वीकार गरी अघि बढ्नुको विकल्प नरहेको बताए । आम सञ्चार प्रतिष्ठान गठनमा फोनिजको सहयोग रहने उनले प्रष्ट पारे ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले अहिलेसम्मको सबै दस्तावेजले संस्थापकमा सत्यनारायणबहादुर श्रेष्ठलाई नै स्वीकार गरेकाले संस्थापक मान्नमा महासंघले अप्ठेरो मान्न नुहने बताए ।

सत्यलाई स्वीकार नगर्ने हो भने इतिहास माथिको बेइमानी हुने भन्दै महासंघलाई त्यसबारेमा चाँडो निस्कर्षमा पुग्न आग्रह गरे । पूर्वप्रधानमन्त्री भट्टराईप्रति सबै नेपालीको उच्च सम्मान रहेपनि संस्थापक अध्यक्ष उन नरहेको उपाध्यक्ष राईले बताए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले नेपाली पत्रकारिता र राजनीतिक क्षेत्रमा कृष्णप्रसाद भट्टराई परिवारको उच्च योगदान रहेकाले सम्मान गर्नुपर्ने बताए ।

तत्कालिन नेपाल पत्रकार संघ वि.सं. २००८ सालमा गठन भएपनि त्यसको निरन्तरता नभएका कारण भट्टराईले आफ्नो नेतृत्वमा २०१२ सालमा पुनः संघ गठन गरेको उनले दावी गरे । यद्यपि संस्थापकको विषयमा अध्ययन र छलफल गर्न युनियन तयार रहेको उनले बताए ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले महासंघ संस्थापक विषयमा चाँडो टुङ्गो लगाउन आवश्यक रहेको बताए । महासंघ गठनको लामो इतिहास नरहेकाले अध्ययन गरेर छिनोफानो लगाउन सहज रहेको उनले बताए ।

आम प्रशिक्षण प्रतिष्ठान गठनको तयारीमा सरकार भएपनि त्यसमा कृष्णप्रसाद भट्टराईको नाम नजोडेर प्रतिष्ठान गर्न सकिने उहाँले बताए । तथ्यलाई सबैले स्वीकार गर्नुपर्ने भन्दै उनले सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अबमूल्यन पनि कसैले गर्न नहुने उनले सुझाव दिए ।

क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का अध्यक्ष संगीता लामाले लिखतमा संस्थापक अध्यक्ष श्रेष्ठ भएको स्पष्ट रहेकाले त्यस विषयमा थप अध्ययन गरेर टुङ्गोमा पुग्न ढिलाई गर्न नहुने बताए ।

ऐनको रुपमा अघि बढेमा करेक्सन गर्न झन समस्या हुनेभन्दै उनले संस्थापक विषय छिटो निक्र्यौल गर्नुपर्ने सुझाव दिए ।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले संस्थापकको विषय गम्भीर विषय भएकाले अध्ययन गरेर निस्कर्षमा पुग्नुपर्ने बताए । अहिलेसम्म विभिन्न दस्तावेजले श्रेष्ठलाई नै संस्थापक अध्यक्ष रहेको उल्लेख गरेकाले तथ्यलाई स्वीकार गर्नुको विकल्प नहुने बताए ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्थापक वहस विषयको कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा फोनिजमा आवद्ध जातीय पत्रकार संघका पदाधिकारी, सदस्य तथा सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

तत्कालिन नेपाल पत्रकार संघको स्थापना श्रेष्ठको सभापतित्वमा २००८ मा भएको थियो । उनी २००९ सालमा पुनर्गठन भएको संघमा पनि पुनः सभापतिको जिम्मेवारीमा आएका थिए ।

पत्रकार भट्टराई २०१२ साल चैत १६ गते पुनर्गठित संघको सभापति भएका थिए । भट्टराई पछि देशको प्रधानमन्त्री पनि भए ।

प्रतिक्रिया दिनुहोस्