
काठमाडौं । विभिन्न ५ बुँदे माग राख्दै जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर–९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् ।
बिहीबार राति ५ बुँदे सहमति भएसँगै गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर उनले अनसन तोडेकी हुन् । सरकारले शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षण गर्नेसहितका उनका माग सम्बोधन गर्ने भएको छ ।
सहमति पत्रमा निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि पहल गर्ने सहमति भएको हो ।
सहमति पत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव बसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।














