भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुंगो लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले संघ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया टुंगोमा पुर्याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामुहिकतामा नै जाने बताए ।

देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उनले भने, ‘अहिले पनि समस्या र चुनौति त छन्, यद्यपी गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।’
अहिले देशमा एक्लै हिड्ने प्रवृत्ति र मिलेर हिड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उनले बताए । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उनले भने, ‘हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।’ एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उनले बताए ।
स्टेर्ट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्वप्रधानमन्त्री केपीशर्मा ओली सरकारको पालामा भएको उनले बताए । उनले भने, ‘राष्ट्रवादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।’
अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताए । भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उनले यसअघि पहिलो प्रथामिकता सडक रहेको भन्दै अबको प्रथामिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताए । विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमूना बन्ने बताए ।
कार्यक्रममा ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री पम्फा भुसालले नारायणी तटबन्धन र सिँचाइका क्षेत्रमा भरतपुरमा महत्वपूर्ण काम अघि बढेको बताए । वार्षिक रु तीन खर्ब ५० अर्वभन्दा बढी खाध्यान्न बाहिरबाट आएको भन्दै उनले यसलाई रोक्ने गरी कृषि उत्पादन यही गर्नुपर्ने बताए ।
उनले भने, ‘सिँचाइको व्यवस्था हामी गर्छौँ । चितवनले गरेको उत्पादन जिल्लामा मात्र सीमित नभएर राजधानीमा पनि पुग्नुपर्छ ।’
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चितवन, मकवानपुर र धादिङ्मा चेपाङ्लाई लक्षित गरी विशेष कार्यक्रम अघि सारिएको बताए । प्रदेश सरकारले ल्याएका बजेटका मुख्य अङ्शका बारेमा उनले जानकारी गराए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले चितवनलाई सडक सञ्जालमार्फत काठमाडौँ, पोखरा, भैरहवा र वीरगञ्जलाई जोड्ने गरी कार्यक्रम अघि बढाइएको बताए ।











