Logo
Logo

‘लोकदोहोरीमा नाम छ दाम त त्यस्तै हो’



काठमाडौं । हिजोआज लोकसंगीत बजारमा ‘लाईभ दोहोरी’ चलेको छ । नयाँदेखि पुराना र स्थापित कलाकारसमेत ‘लाईभ दोहोरी’ गाउन व्यस्त छन् । झण्डै दुई दशक गायनमै बिताएकी गायिका रेजिना परियार पनि ‘लाईभ दोहोरी’मै व्यस्त छिन् । उनले गाउँघरको रोधीघरमा गाउँदागाउँदै २०६१ सालमा ‘बस्यो दिल बोलीमा’ गीत रेर्कड गरेर सांगीतिक करिअर सुरु गरेकी हुन् । गोरखाको बारपाक सुलिकोटकी गायिका रेजिना भन्छिन्, ‘हिजोआज दैनिक ३–४ वटासम्म लाइभ दोहोरी रेकर्ड गर्दै आएकी छु ।’ रेजिनाका माया जाने दाङ सल्यान, चियाबारीमा, फूल राम्रो फूलकै बासनाले, माया माया भनेर, जोडी ढुकुर, रुवाउँछ तिजले, पोखरा रोधीघरैमा जस्ता गीत चर्चित छन् । १९ वर्षे सांगीतिक यात्रामा सयभन्दा बढी गीतमा स्वर दिएकी रेजिना परियारसँग दृष्टिको जम्काभेट:

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
लोकदोहोरी गायनमै व्यस्त छु । अहिले लाईभ दोहोरीको ट्रेण्ड चलेको छ । म पनि लाईभ दोहोरीमै व्यस्त भइरहेकी छु । एकैदिन चार वटासम्म लाईभ दोहोरी रेकर्ड गर्दै आएकी छु ।

लोकदोहोरी गायनमा कसरी लाग्नुभयो ?
सानैदेखि लोकदोहोरी गाउँथेँ । मेरो गाउँ गोरखाको बारपाक सुलिकोट हो । जहाँ गुरुङ बस्ती छ । गुरुङ बस्तीमा रोधी बस्ने चलन छ । म पनि रोधीघरमा गाउँथेँ-नाच्थेँ । रोधीघरमा गाउँदागाउँदै लोकदोहोरी गायनमा लाग्ने इच्छा जाग्यो । त्यसपछि व्यवसायिक गायनमा लागेकी हुँ ।

लोकदोहोरी गायनमा लाग्नुभएको कति भयो ?
सरकारी जागीर भएको भए पेन्सिन पाक्थ्यो । २०६१ सालदेखि यो क्षेत्रमा निरन्तर लागिरहेकी छु ।

रोधीघरमा गाउनेहरू गायनमा निखारिएका हुन्छन् भन्छन् नि ?
म पनि रोधीघरमा गाएर निखारिएरै लोकदोहोरी क्षेत्रमा आएकी हुँ । त्यसबाहेक गायनमा औपचारिक रुपमा पाइला टेक्नुअघि विभिन्न लोकदोहोरी प्रतियोगितामा सहभागी भएर अवार्ड र पुरस्कारहरू पनि पाएकी थिएँ ।

तपाइँ गायिका बन्नकै लागि काठमाडौं आउनुभएको हो ?
गायिका बन्ने सपना लिएर २०६१ सालमा काठमाडौं आएकी हुँ । काठमाडौं आएपछि पहिलोपटक ‘बस्यो दिल बोलीमा’ गाएँ । त्यो नै मेरो पहिलो रेकर्डिङ भएको गीत हो ।

रोधीघरमा गाउँदागाउँदै एक्कासी स्टुडियोमा गाउँदा कस्तो लाग्यो ?
मैले ‘बस्यो दिल बोलीमा’ गीत काठमाडौं डिजिटलमा रकेर्डिङ गरेकी हुँ । त्यसअघि रेकर्डिङ स्टुडियो कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । स्टुडियोमा गीत रेर्कड गरेपछि खुसीले फुरुंग भएँ । अबचाहिँ गायिका बनियो भन्ने मनमा छुट्टै अनुभूति भएको थियो । तर, जतिजति गाउँदै आएँ, उतिउति सांगीतिक क्षेत्र जटिल रहेछ भन्ने महसुस हुँदै गयो ।

त्यो समय काठमाडौैंमा दोहोरी साँझको जगजगी थियो । तपाइँले दोहोरीमा पनि गाउनुभयो ?
गोरखाबाट काठमाडौं छिरेदेखि नै दोहोरीमा गाउन थालेकी हुँ । दोहोरी गायिका बन्न काठमाडौं आएकाले दोहोरीमा गाउन थालेँ । तर, त्यो बेला दोहोरी साँझमा गाउन पाउनु पनि ठूलो संघर्ष गर्नु पर्दथ्यो । ट्रायल पास गरेपछि मात्र गाउन पाइन्थ्यो । मलाई चाहिँ रोधीघरको अनुभवले काम पाउन खाशै गाह्रो भएन । सुरुमा बालाजुको एक दोहोरीमा गाउन थालेँ । विस्तारै मेरो गायन सुनेर अरुबाट पनि डिमाण्ड आउन थाल्यो ।

०६१ सालमा एल्बम निकाल्ने चलन थियो । तपाइँले एल्बम ल्याउनुभएन ?
मेरो आफ्नै एल्बम तीन वटा छन् । विस्तारै अडियोको चलन हट्दै गयो । गीतसंगीत सुन्नेभन्दा हेर्नेतिर अग्रसर भएपछि एल्बम बिक्री पनि हुन छाड्यो । त्यसपछि एल्बम निकाल्न छाडेँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
लोकदोहोरी भएपनि स्तरीय गीतमा जोड दिन्थेँ । संख्यामक भन्दा गीत गुणात्मक हुनुपर्छ भन्ने मेरो मान्यता हो । यो १९ वर्षे मेरो सांगीतिक यात्रामा आफ्नो एल्बमसहित एक सय भन्दा बढी भयो होला ।

लोकदोहोरी क्षेत्रमा झण्डै दुई दशक संघर्ष गर्नुभयो । तपाइँको उद्देश्य के हो ?
म लोकदोहोरी प्रेमी हुँ । यहाँसम्म आउन मैले धेरै संघर्ष गरेकी छु । अझै संघर्ष गर्दैछु । रोधीघरदेखि दोहोरी गायिका बन्न मैले गरेको संघर्ष र मिहिनेतलाई खेर जान नदिन निरन्तर गायनमै सक्रिय रहने इच्छा छ । उद्देश्य भनेको लोकदोहारी क्षेत्रमै टिकिरहने हो ।

झण्डै दुई दशक लोकदोहोरी क्षेत्रमा योगदान गर्नुभएको छ । त्यसमा तपाइँले के पाउनुभयो ?
नाम पाएकी छु । दाम भन्ने आफ्नै ठाउँमा छ । त्यसबाहेक विभिन्न मान–सम्मान र अवार्डहरु पाएकी छु ।

तपाइँ आफ्नो पेसाबाट खुसी हुनुहुन्छ ?
खुसी नै छु । गीतसंगीतबाटै आत्मनिर्भर छु । त्यसैले सन्तुष्ट पनि छु ।

प्रतिक्रिया दिनुहोस्