काठमाडौं । नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले जिल्ला अध्यक्ष रतनबहादुर थापालाई स्पष्टीकरण सोधेका छन् । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै रानाले जिल्ला अध्यक्ष थापालाई स्पष्टीकरण सोधेका हुन् ।
आइतबार स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन कांग्रेससँग साँठगाँठ गरेको आशंका, पार्टी हितविपरीत अन्तरघाति गतिविधि गरेको भन्दै अध्यक्ष थापालाई २३ वटा प्रश्न सोधिएको छ ।

सुदूरपश्चिम प्रदेश कमिटी र केन्द्रीय संगठन विभागलाई बोधार्थ पठाइएको स्पष्टीकरण पत्रमा अध्यक्ष थापालाई तीन दिनभित्र अर्थात मंगलबारसम्म बुझाउन निर्देशन गरिएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टी अध्यक्षको हैसियतले पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा चुनाव अवधिमा मौन बसेको, आफ्नो गृहपालिका लम्की चुहा नगरपालिकामा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको नगर निर्वाचन मूलसमितिको निष्कर्षका आधारमा थुप्रै आशंका उब्जिएको स्पष्टीकरणमा उल्लेख छ ।











