काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार एसपीपी अस्वीकृत गरेको जानकारी अमेरिकालाई दिन मन्त्रिपरिषद्ले नेपाली सेनालाई अख्तियारी दिएको छ । ‘सेनाले पठाएको पत्र फिर्ता लिएर अस्वीकृत गरेको जानकारी गराउन नेपाली सेनालाई भन्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।











