Logo
Logo

वाम एकताको नामै सुन्न चाहन्नन् ओली


9.4k
Shares

काठमाडौं । आगामी संसदीय निर्वाचनका निम्ति वामपन्थी पार्टीहरूबीच गठबन्धन, एकता र सहकार्यमध्ये कुन सम्भावना छ ? भनेर बुझ्नका लागि एमालेका केही नेताले शुरु गरेको अभियान स्वयं अध्यक्ष केपी शर्मा ओलीले तुहाइदिएका छन् ।

एमालेका केही नेताले स्थानीय तह निर्वाचनमा देशभरि प्राप्त मत, पराजित भएका ठाउँमा मतान्तरको विश्लेषणसहित त्यसले आगामी निर्वाचनमा पार्ने असरबारे गरेको अध्ययनको रिपोर्ट सुनाउन पुगेका नेताहरूलाई ओलीले ‘यस्तो वाइयात कुरा गरेर बस्ने होइन, अन्तर्घाती पत्ता लगाएर कारबाही गरौँ’ भनेपछि उनीहरूको योजना असफल भएको हो ।

स्थानीय निर्वाचनमा एमाले पराजित हुनुको पछाडि अन्तर्घातभन्दा ठूलो समस्या पार्टी विभाजन भएको निष्कर्ष ती नेताले सुनाउँदा ओलीले ‘यस्तो हुनै सक्दैन’ भनेका हुन् ।

अहिलेसम्मका स्थानीय निर्वाचनमा कहिल्यै पनि एमाले पराजित नभएको काठमाडौं, कीर्तिपुर, दमक, धरान, इटहरी, सिमरा, हेटौंडा, पोखरा, बुटवलजस्ता स्थानीय तहको पराजय केवल पार्टीभित्रको अन्तर्घातमात्र कारक नभई विभाजनको असर देखिएको ती नेताको ठहर थियो । तर, ओलीले विभाजनलाई हैन, अन्तर्घातलाई मूल कारण मानेर अन्तर्घाती पहिचानको अभियान शुरु गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

एमालेले आफू पहिलो शक्तिका रुपमा रहेको काठमाडौंमा तेस्रो स्थान हासिल गरेको छ । जित्ने मेयर बालेन्द्र साहभन्दा एमालेका केशव स्थापितले २३ हजार ६ सय ५० मतको अन्तरमा पराजय व्यहोरेका थिए ।

धरानमा पनि काठमडौंमा जस्तै एमाले पहिलोबाट तेस्रो हुँदा जित्ने मेयरका उम्मेदवार हर्क साम्पाङभन्दा एमालेका मञ्जु भण्डारी ७ हजार ९ सय ९६ मतको अन्तरमा पराजित हुनुपरेको थियो । इटहरीमा पनि पहिलो शक्तिबाट एमाले दोस्रोमा झरेको छ । त्यहाँ जित्ने मेयर हेमकर्ण पौडेलसँग एमालेका यामकुमार सुब्बाले ५ हजार १८ मत कम पाएका थिए ।

सिमरामा ९ सय ६४ मतले एमाले पराजित भएको छ । पोखरामा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग एमालेका कृष्ण थापा ६ हजार ४ सय ९ मतले पराजित हुनुका पछाडि पार्टीभित्रकै अन्तर्घात मूल कारक रहेको ती नेताको ठहर छ । बुटवलमा पनि एमाले ७ हजार ५ सय ३१ मतका साथ पराजित हुनुको पछाडि अन्तर्घात हो भन्ने ओलीको ठहर छ ।

यी र यस्ता थुप्रै स्थानीय तहमा एमालेले व्यहोरेको अकल्पनीय पराजयले संसदीय निर्वाचनमा झन् ठूलो धक्का दिने अनुमान गर्दै आगामी रणनीति तय गर्नुपर्नेमा नेताहरूलाई ओलीले अन्तर्घाती पहिचान गरेर अगाडि बढ्नुपर्ने र त्यसबाहेकका काममा लागेर सफलता नमिल्ने भनेका छन् ।

एमाले पराजित भएका अधिकांश स्थानीय तहमा स्थानीय पार्टी कमिटीले सिफारिस गरेभन्दा फरक मानिसले टिकट पाएका थिए । टिकट वितरणबाटै समस्या आएका कारण पराजित हुनुपरेको हो भन्ने नेताका कुरालाई ओलीले स्वीकार गरेका छैनन् ।

बालकोट स्रोतका अनुसार ओलीले पराजित भएका उम्मेदवारहरूले भनेका आधारमा अन्तर्घाती पहिचानको अर्को घातक काम शुरु गरेका छन् । जहाँ–जहाँ, ज–जसले चुनाव हारे, उनीहरूले आफ्नो पराजयमा भूमिका रहेका पार्टी सहकर्मीका नाम बालकोटालाई भनिसकेका छन् । ओलीले तिनै व्यक्तिहरुलाई कारवाही गरेपछि आगामी निर्वाचन सहज किसिमले जितिने भनेका छन् ।

ओलीले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा कुनै शक्तिसँग सहकार्य गरेर जाने अवस्था भए पनि त्यसअघि स्थानीय निर्वाचनका अन्तर्घाती पहिचान हुनै पर्ने बताएका छन् ।

भोलिका दिनमा गरिने गठबन्धन वा सहकार्यमा पनि फेरि तिनै व्यक्ति पार्टीविरुद्ध उभिने कारण पहिले नै उनीहरूलाई कारबाही गरेर बाहिर राख्नुपर्ने ओलीको भनाइ छ । तर, अरु नेताले यसरी अगाडि जाँदा झन् बढी क्षति हुने भन्दै तालमेल गर्न सम्भव शक्तिहरूसँग संवाद अगाडि बढाउनुपर्ने भनेका छन् ।

स्थानीय निर्वाचनपछि ओली नेतृत्वको खुलेर आलोचना गर्ने स्थायी कमिटी सदस्य घनश्याम भुसालको हकमा एमालेले तत्काल कारबाही अगाडि नबढाउने भएको छ । भुसालमाथिको कारबाही राष्ट्रिय राजनीतिमै चर्चाको विषय बनिरहेको छ ।

यदि, उनीमाथि कारबाही भएमा ओलीलाई साथ दिइरहेका योगेश भट्टराई, सुरेन्द्र पाण्डेसहितका नेताहरू पनि असन्तुष्ट हुने कारण ओली यो कदमबाट पछाडि हटेका हुन् । घनश्याम प्रकरणपछि ओलीले निकटस्थ नेताहरूसँग भनेका छन्– ‘यस्ता मान्छेलाई कारबाही हैन, भूमिका नदिएर प्यासिभ राख्नुपर्छ ।’

ओलीले काठमाडौं, कीर्तिपुर, पोखरा, धरान, इटहरी र बुटवल पराजयका दोषी पहिचान गरी केही नेतालाई कारबाही गरिहाल्ने मनस्थिति बनाएका छन् । त्यसक्रममा काठमाडौंमा रामवीर मानन्धर, कीर्तिपुरमा सुरेन्द्र मानन्धर, पोखरामा पृथ्वीसुब्बा गुरुङसहितका नामहरू तयार पारिएको स्रोतले बताएको छ । तर, उनीहरुमाथि कारबाही गरिँदा फेरि पार्टीभित्र रडाको मच्चिने खतराका कारण नाम गोप्य राखिएको छ ।

बुटवल पराजयका पछाडि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीचको द्वन्द्व कारक रहेको रिपोर्ट बालकोटमा पुगेको छ । कारबाहीका लागि सबभन्दा बढी नाम धरानबाट गएको स्रोतले जनाएको छ ।

त्यहाँका मेयर उम्मेदवार मञ्जु भण्डारीलाई पराजित गराउन मनोजकुमार मेन्याङ्बो, रमेश बस्नेत, नारायण सुवेदी, रत्न कटुवाल, बेणु काफ्ले, भीम ज्वाला राईहरू सक्रिय भएको भनी नाम पुगेको छ । इटहरीबाट रामप्रसाद चौलागाईंसहितका नेताको नाम कारबाहीका लागि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्