
काठमाडौं । ‘नानीदेखि लागेको बानी’ले नेपाल वायुसेवा निगमबाट बर्खास्तीमा परेका कार्यकारी अध्यक्ष युवराज अधिकारीको बेइज्जत भएको छ ।
विद्यार्थीकालदेखि नै केटी भनेपछि हुरुक्कै हुने अधिकारी निगममा जागिर खाँदादेखि अहिलेसम्म कुनै न कुनै रुपमा महिला हिंसासँग जोडिँदै आएका छन् । यस्तो घटनाले निगमका कर्मचारीको शीर निहुँरिएको छ ।
अधिकारी कर्पोरेट डाइरेक्टर हुँदा उनले निगमका महिला कर्मचारीहरूमाथि गरेको दुव्र्यवहारको भिडियो सार्वजनिक भएको छ । त्यतिबेला उनले लिखित रुपमा माफी मागेर आइन्दा महिला कर्मचारीलाई दुव्र्यवहार र यौनजन्य हिंसा नगर्ने बताएका थिए ।
सार्वजनिक भएको भिडियोमा अधिकारीले पीडित महिला सामु आफू १० वर्षदेखि पोस्टेडको विरामी भएकाले त्यस्तो काममा सरिक हुन नमिल्ने बताएका छन् । भिडियोमा उनले भनेका छन्– ‘सेक्सप्रति मेरो रुची छैन । त्यसैले मेरो बच्चा पनि छैन ।’
त्यतिबेला ‘महिला कर्मचारीमाथि दुव्र्यवहार गर्ने छैन’ भनेर २०७४ कात्तिक ६ गते लिखित माफी मागेका अधिकारीमाथि निगमको कार्यकारी पदमा पुगेपछि यौन हिंसा गरेको आरोप छ ।
अधिकारीले निगममा कार्यरत एक महिला कर्मचारीलाई दिनभर आफ्नो कार्यकक्षमा राख्ने गरेको निगमका अन्य कर्मचारीले बताएका छन् । कार्यकारी अध्यक्षको गोप्य कोठाको सोफा हटाएर त्यसको ठाउँमा खाट राखेबाट अधिकारीको नियत बुझ्न सकिने निगमका कर्मचारीले दृष्टिलाई बताए ।
निगम स्रोतका अनुसार अधिकारीले ती महिला कर्मचारीसँग रातिराति म्यासेन्जरमा टाइप गरेर कुराकानी गर्ने गरेको खुलेको छ । स्रोतका अनुसार उनलाई रातको ११ बजेसम्म ‘म्यासेज’ गरेर मानसिक तनाव दिने गरेका छन् ।
म्यासेजमा अधिकारीले ‘मलाई वास्ता गर्न छाड्यौँ ?’ भनेर म्यासेज टाइप गर्दा ती महिला कर्मचारीले जवाफ दिएकी छिन– कति वास्ता गर्नु ? दिनभर अफिसमा तपाईंसँग थिए ! घरको काम पनि त गर्नुपर्यो ।’
निगम स्रोतका अनुसार ती महिला कर्मचारीलाई मलेसिया स्टेशनमा पठाउने प्रलोभन दिएर अधिकारीले दिनभर आफ्नो कोठामा राख्ने गरेका थिए ।
निगम स्रोतका अनुसार अधिकारीको अष्ट्रेलियामा बैंक खाता भेटिएको छ । अधिकारीले हार्बोस्ट मुन ट्राभललाई हङकङ र जापानको टिकट बिक्री गर्न दिएर प्रति टिकट २५ देखि ३० हजारसम्म कमिशन बुझ्ने गरेको स्रोतले बताएको छ ।
त्यसैगरी निगमको ट्वीनटर जहाज पोखरा–जोमसोम नियमित उडान गर्नुपर्नेमा निजी कम्पनीलाई भाडामा दिएर ५ प्रतिशत कमिशन खाएको आरोप छ ।
पर्यटनमन्त्री प्रेम आलेले सुरुदेखि निगमको घाटा कम गर्न ई–टिकटको व्यवस्था गर्न आग्रह गर्दा पनि अधिकारीले आलटाल गर्दै आएका थिए ।
निगम स्रोतका अनुसार ई–टिकटको लागि खरिद गर्न लागिएको सफ्टवेयरमा पनि ठूलो घोटाला गरिएको छ । एयरवस ३३० को इन्जिन इजरायली कम्पनीलाई दिएर कमिसन खाएको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परे पनि अख्तियारले छानबिन नगरेको गुनासो कर्मचारीहरूको छ ।
यसैबीच, सरकारले सोमबार अधिकारीलाई निगमको कार्यकारी अध्यक्षबाट बर्खास्त गरेको छ ।














