
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् ।
मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको मन्त्री भुसालले स्मरण गरिन् ।
उनले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा राखिन् ।साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको मन्त्री भुसालको भनाइ थियो ।
सङ्घीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । सो अवसरमा राजदूत क्याप्लरले स्वीस सरकारले नेपाललाई निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाइन् ।
‘हामीसँग टनेल एवं टवाईनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ,’ राजदूत क्याप्लरले भनिन् ।














