
काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारमाथि लागेको भ्रष्टाचार आरोपे छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।
सरकारले पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजगत्वमा छानविन समिति गठन गरेको हो । समितिमा होम लुइटेल र प्रेमनाथ ठाकुर सदस्य रहेका छन् ।
भ्रष्टाचार तथा यौन दुव्र्यवहारको आरोप लागेको अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेको थियो ।
निगम स्रोतका अनुसार अधिकारीको अष्ट्रेलियामा बैंक खाता भेटिएको छ । अधिकारीले हार्बोस्ट मुन ट्राभललाई हङकङ र जापानको टिकट बिक्री गर्न दिएर प्रति टिकट २५ देखि ३० हजारसम्म कमिशन बुझ्ने गरेका थिए ।
त्यसैगरी निगमको ट्वीनटर जहाज पोखरा–जोमसोम नियमित उडान गर्नुपर्नेमा निजी कम्पनीलाई भाडामा दिएर ५ प्रतिशत कमिशन खाएको आरोप छ ।
पर्यटनमन्त्री प्रेम आलेले सुरुदेखि निगमको घाटा कम गर्न ई–टिकटको व्यवस्था गर्न आग्रह गर्दा पनि अधिकारीले आलटाल गर्दै आएका थिए ।
निगम स्रोतका अनुसार ई–टिकटको लागि खरिद गर्न लागिएको सफ्टवेयरमा पनि ठूलो घोटाला गरिएको छ । एयरवस ३३० को इन्जिन इजरायली कम्पनीलाई दिएर कमिसन खाएको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परे पनि अख्तियारले छानबिन नगरेको गुनासो कर्मचारीहरूको छ ।














