
लण्डन । भूतपूर्व गोर्खाको समस्या समाधानका लागि बेलायती मन्त्रीले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् ।
गोर्खा वार्ताका लागि नेपालको संयोजकसमेत रहेका राजदूत आचार्य र बेलायती सरकारका वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच मंगलबार लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो ।
भूपू गोर्खाको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य, अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको दूतावासका उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।
वार्ताको मिति भने तोकिएको छैन । नेपालले छिट्टै वार्ता गर्न बेलायती सरकारसँग आग्रह गरेको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ ।
छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेको दूतावासले उल्लेख गरेको छ ।














