काठमाडौं । संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथि बुधबार (आज) संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।
अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ ।

अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मंसिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त मुद्दामा यसअघि संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो । उक्त म्याद तामेलीको समय सकिएपछि आज संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइको मिति तोकिएको हो ।











