
काठमाडौं । त्रिशुल जात्रा २ वर्षपछि पशुपति क्षेत्र विकास कोषको सिफल चौरमा मनाइएको छ ।
कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा रोकिएको जात्रा विधिपूर्वक मनाइएको हो । कोषका धर्म संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीका अनुसार प्रत्येक आषाढकृष्ण अष्टमीका दिन मनाइने जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको हो ।
स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बने । भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगे । आचार्जु पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।
नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशुल जात्राका क्रममा अश्लील शब्दले गालीसमेत गर्ने गरेको भनाइ रही आएको छ । आचार्जुले ल्याएको अमृतले बालकलाई बचाए ।
त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशुल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशुलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाई पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्य बताउँछन् ।
सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किम्बदन्ती छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् ।
यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुरक्षित हुने विश्वास गरिन्छ ।











