काठमाडौं । चिकित्सकको सिफारिस विना लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई औषधि विक्रिवितरण गरेको आरोपामा फार्मेसी सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५, हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसीका संचालनक ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ स्थायी वतन भएका २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।
गंगाजमुना फार्मेसीमा विना इजाजत अवैधरूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
साथै, फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।














