काठमाडौं । झापामा सञ्चालित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले आगामी पाँच वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पतालहरु बन्द हुने दावी गरेका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।

देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुनेक्रममा रहेको बताउँदै उनले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’का कारण सबै मेडिकल कलेजहरु बन्द हुने तरखरमा रहेको बताए ।
उनले भने, ‘नेपालमा सञ्चालनमा रहेका नर्सिङ कलेज बन्द हुँदैछन् । नेपालमा भएका नर्सहरू विदेश जाँदैछन् । त्यसपछि नेपालमा नर्सिङ पढ्नै पाइँदैन । भारत वा अन्य देशतर्फ लाग्नुपर्छ ।’ नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
उनले पर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समेत बताए । बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनको भनाइ छ ।
सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । यस योजना अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यको बीमा हुन्छ ।
उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रममा जोडिएर बीमा गरेका दैनिक १ हजार जना बिरामी अस्पताल आउँछन् । यी सबैलाई हामी उपचार गरेर पठाउँछौं । तर, उपचार गरेबापत राज्यले दिनुपर्ने रकम हामीलाई दिएको छैन ।’














