
जनकपुर । मधेस प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट गरिएको छ ।
सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीको आवासका लागि जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) परिसरमा प्रशासनिक भवन बनाउन उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको हो ।
३५ बिघा क्षेत्रफल जग्गामा रहेको जचुकालीको परिसरभित्र नै मधेस प्रदेश सरकारको प्रशासनिक भवन, विभिन्न मन्त्रालयहरुको भवन, मुख्यमन्त्री निवास, सचिवालय, मन्त्रीहरुको निवास निर्माण गर्न सकिने गरी समितिले प्रतिवेदन तयार गरेको छ ।
सरकारले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा जग्गा चयनका लागि सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले प्रदेशको राजधानी क्षेत्रमा पर्ने विभिन्न सार्वजनिक जग्गाको तथ्याङ्क धनुषा र महोत्तरीका मालपोत तथा नापी कार्यालयसँग लिएर जग्गाको अवस्थाबारे अध्ययन गरेको थियो ।
जचुकाली परिसरलाई सरकारले ‘मधेस भवन’ घोषणा गरिसकेको छ । हाल त्यसभित्र प्रदेश प्रमुखको आवास र कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेकका सबै मन्त्रालय, मन्त्रीहरुका आवास, मुख्यमन्त्रीको आवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सचिवको आवास, अधिकृतको आवासलगायत रहेका छन् ।











