
काठमाडौं । रवि लामिछाको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
आगामी संसदीय निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले रविको पार्टीले भ्रम उत्पन्न गराउने भन्दै दर्ता नगर्न निर्वाचन आयोगसँग अनुरोध गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाई, पुस्कर शाह र थप एक व्यक्तिले रविको पार्टी दर्ता नगर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।
उजुरी पत्रमा भनिएको छ– रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि दिइएको निवेदन उपर हामी विभिन्न ठाउँबाट उम्मेदवार दिन गइरहेका स्वतन्त्र उम्मेदवारहरुको उक्त पार्टीको नामसँग बिमति रहेको जानकारी गराउदछौं ।’
स्वतन्त्र शब्दको आफैमा महत्व रहेको भन्दै उनीहरुले रविको निवेदनको आधारमा आयोगले दल दर्ता गरे जनतामा भ्रम र अन्योल उत्पन्न भइ स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने समेत बताएका छन् ।














