काठमाडौं । संवैधानिक नियुक्तिविरुद्धका रिटमाथि बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो । तर, राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित भएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको छैन । सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल मगाउने आदेश गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाईविनै नियुक्त गरिएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । एक वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त रिटमाथि सुनुवाइ हुन सकेको छैन । ,











