काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् ।
बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् । बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।

उनले भने, ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु ।’
सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।
तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।














