Logo

कम्युनिष्ट नहुँदा पनि समाज एक ठाउँमा बसिरहँदैन


दामोदर अर्याल


लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी व्यवस्थाको स्थापना र प्रयोगपछिका केही वर्षहरूमा आम जनता अनुमान गरेभन्दा धेरै जागरुक भएका छन । त्यसबाहेक कामदार र विद्यार्थीका रुपमा नेपाली युवाको विश्व विचरणले पनि नेपालमा सचेतनताको लहर फैलिएको हो । यसका सन्दर्भमा सामाजिक सञ्जालको भूमिका पनि सशक्त नै छ ।

भौतिक परिस्थितिमा भएका फेरबदलहरूले मानवीय चेतनामा अभिवृद्धि गर्छ । बितेको दशकमा हाम्रा वरिपरि हरेक क्षेत्रमा यति धेरै परिवर्तनहरु भए कि ती परिवर्तनहरूका बेगले मान्छेको सोच्ने तरिकामा पनि व्यापक फेरबदल ल्यायो ।

शहरका कुरा छाडौँ, मानवीय विकासका हिसाबले अत्यन्त पछाडि ठानिएका दूरदराजका दुर्गम क्षेत्रका मानिसमा समेत श्रीवृद्धि भएको सामाजिक चेतनाले अब नेपाल पहिलेको ठाउँमा रहेन ।

सामन्यतया चेतनाका हिसाबले समाज पछाडि हुन्छ र कम्युनिष्टहरु अगाडि हुनपर्दछ । अनि न कम्युनिष्टहरूले समाजलाई सदाकाल नेतृत्व गर्न सक्दछन् । जति धेरै समाज विकसित हुन्छ त्यति धेरै उन्नत कम्युनिष्ट पार्टी र यसको चेतना हुन्छ । यो नै समाजवादतर्फ जाने बाटो हो ।

नेपाली चेतनालाई नेपाली कम्युनिष्टहरुले नेतृत्व गर्ने हो भने उनीहरु उन्नत चेतना आवश्यक छ । अन्यथा, समाजको आगामी परिवर्तनको लगाम अरु कसैको हातमा जाने कुरामा अब कुनै सन्देह छैन । किनकि, कम्युनिष्टहरु नभए पनि समाज एक ठाउँमा बसिरहँदैन, यो गतिशील छ ।

नेपालमा यो क्रम उल्टो हुन खोज्दैछ । आफैँले ल्याएको परिवर्तन र त्यसले निर्माण गरेको जनताको चाहना र चेतनाको तीव्र बेगमा नेपाली कम्युनिष्टहरू कुहिरोको कागझैँ हराइरहेका छन् । अथवा, त्यसलाई नेतृत्व गर्न असफल सावित हुँदैछन् ।

अब नेपाली चेतनालाई नेपाली कम्युनिष्टहरुले नेतृत्व गर्ने हो भने उनीहरु उन्नत चेतनाका साथ मैदानमा आउनु पर्दछ । अन्यथा, समाजको आगामी परिवर्तनको लगाम अरु कसैको हातमा जाने कुरामा अब कुनै सन्देह छैन । किनकि, कम्युनिष्टहरु नभए पनि समाज एक ठाउँमा बसिरहँदैन, यो गतिशील छ ।

बालेन साहको विजय काठमाडौँवासीको उन्नत चेतनाको परिणाम हो । यो शून्य भोट वा नो भोट होइन । दलहरु पछाडि र जनता अगाडि छन् भन्ने कुराको संकेत पनि हो । यस्तो प्रवृत्ति काठमाडाँैमा मात्र होइन, देशैभरि देखिएको छ ।

हिजो राजाले जनताका प्रतिनिधि छान्थे, आज दलका नेताहरु जनताका प्रतिनिधि छान्छन् । प्रश्नहरु उठिरहेको छ, हिजो र आजमा के फरक छ ? उनीहरुले थाहा पाइसके, लोकतन्त्रमा जनताका प्रतिनिधि जनताले छान्न पाउनुपर्छ । त्यसैले उनीहरु आफ्ना प्रतिनिधि आफैँ छान्ने कोसिस गर्दैछन् ।

जसरी हिजो राजाको तानाशाही प्रवृत्तिका विरुद्धमा विद्रोह भयो, त्यसरी नै दलका नेताहरुको एकाधिकारका विरुद्धमा पनि विद्रोहको झिल्काहरु देखापर्दैछ । उदाहरण बालेन र हर्कहरु नै हुन ।

जननेता मदन भण्डारीले भन्नुभएजस्तै ‘सिद्धान्तको नशा पिएर पल्टने’ दिशामा आजका मान्छेहरु देखिएनन् । न त चुनाव चिह्न र झण्डाको लोभमा नै फसे । जनयुद्ध र जबजको कथा पनि अब बिक्न छाड्दैछ । परिणाम खोज्ने नयाँ युवापुस्ता आइसक्यो ।

आजको नयाँ पुस्ता भोलि, पर्सि समाजवाद आउँछ भनेर आजको समस्याहरूमा मूकदर्शक बन्न चाहँदैन । देश दुनियाँमा के भइरहेको छ ? यो थाहा पाउन मानिसलाई अब आमसभामा जानु पर्दैन, न त राजनीतिक प्रशिक्षण नै लिनु पर्दछ । लामा–लामा लेख पढ्ने फर्सद आज कसलाई छ ? हरेकका हातमा मोबाइल छ, त्यसैबाट मानिस संसार चिहाइरहेका छन ।

अब कसले विश्वास गर्छ ? मान्छे देउता हुन्छ भनेर ! त्यसैले त ‘आइ लभ यु’ बिक्न छोड्यो । काम र परिणामबिनाको उखान–टुक्कालाई मान्छेहरुले जोकरी ठानिसके ।

मान्छे कुरा र कामका बीचमा भिन्नता छुट्याउन थालेका छन् । तिमी के भन्छौँ र के गर्छौँ ? यसका आधारमा धारणा बनाउने ठूलो जनमत तयार भइसकेको छ । कम्युनिष्टहरूले रामको जन्मभूमि खोज्दै हिँडेको कुरा नयाँ पुस्तालाई मन परेको छैन । न त समुन्द्र नभएको देशमा पानीजहाजको कुरालाई नै सपना ब्युँत्याएको भनेर मान्न तयार छन् ।

त्यसबाहेक देशमा उत्पादन नै नहुने ग्यासलाई घर–घरमा पाइपबाट पुर्याउने हावादारी गफ नपत्याउनेहरुलाई राजावादी भनेर अबको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । मान्छे परिणाममुखी कार्यक्रम खोजिरहेका छन् । त्यो भन्दा धेरै इमान्दारिता ।

गएको दशकमा राजनीतिमा आएको परिवर्तनले हाम्रो समाज, संस्कृति, गीत–संगीत, रहनसहन र वेषभूषामा पनि व्यापक फेरबदल गरेको छ । हामीलाई मन परे पनि, नपरे पनि नारायणगोपालको ठाउँ भिटेनले लिइसक्यो ।

जाति र धर्मका आधारमा गरिने राजनीति अनुमान गरेभन्दा धेरै असफल भएको छ । मधेसी बाहुल्य मतदाता भएको ठाउँमा नेवार जनप्रतिनिधि हुनु, नेवार बाहुल्य भएको ठाउँमा मधेसी समुदायबाट आएकाले विजय हासिल गर्नुजस्ता उदाहरणहरु अन्य समुदायमा पनि देखिएको छ ।

अन्तरजातीय विवाह बढ्दैछ । पढेलेखेका मानिस आफ्नै देशमा भविष्य खोज्ने प्रवृत्ति समाप्त भइसकेको छैन । महिला आफूविरुद्ध भएका अत्याचारबारे आफैँ बोल्न थालेका छन् । परिवार, समाज र राज्यमा आफ्नो हिस्सेदारी खोज्न थप सचेत भएको देखिन्छन् ।

दलका कार्यकर्ता आफ्नै नेताविरुद्ध बोल्न जुर्मुराउँदै छन् । यसपालिको स्थानीय निर्वाचनलाई मसिनो गरी विश्लेषण गर्ने हो भने दलका कार्यकर्ताले आफ्ना नेताको गलत आदेश र फर्मानहरुलाई अस्वीकार गरेका घटना बढेका छन् । तर दलका नेता यो मौन विद्रोहलाई अन्तर्घातको संज्ञा दिएर आफ्नो कमजोरी ढाकछोप गर्दैछन्, जुन उनीहरुका लागि आत्मघाती सावित हुँदैछ ।

मानिस बुझ्दैछन्, लोकतन्त्र र दलतन्त्रबीच भएको भिन्नता र समानताहरु । कम्युनिष्टहरुले दलतन्त्रको पक्षमा होइन, लोकतन्त्रका पक्षमा उभिनुपर्छ । दुर्भाग्य, यहाँ स्वयं कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरु नै दलतन्त्रको अभ्यासमा रमाइरहेका छन् ।

त्यतिमात्र होइन, कुनै कम्युनिष्ट पार्टीको नेता त मुलुकलाई दुईदलीय व्यवस्थामा लैजान कन्दनी कस्दैछन् । यसबाट उनी नेपाली समाजको बदलिँदो रुझानबारे कति बेखबर छन् भन्ने प्रमाणित हुन्छ ।

यदि, नेपाली कम्युनिष्टहरुले पुनः समाजलाई नेतृत्व गर्ने हो भने आफूभित्रको लोकतन्त्रलाई मजबुत बनाउनु पर्दछ । अप्रासांगिक नेतृत्वलाई किनारा लगाउने यो नै अचुक औषधि हो । त्यसबाहेक आफू लोकतान्त्रिक नभइकन राज्य र समाजभित्र लोकतन्त्र खोज्ने अधिकार पनि हुँदैन । अब, हर्क र बालेनहरुसँग कार्यक्रम र इमान्दारिताका आधारमा प्रतिस्पर्धा गर्ने हो, पुराना चुनाव चिह्न र झण्डा देखाएर होइन ।

हिजो समाज र राज्य व्यवस्थाका कमजोरीलाई उजागर गर्दा आम जनताको सहानुभूति कम्युनिष्टहरुप्रति थियो । आज समाजमा व्याप्त बेथिति, भ्रष्टाचार र दिशाहीनताको जवाफ स्वयं कम्युनिष्टहरुले दिनुपर्छ । किनकि, आज कम्युनिष्ट पार्टीहरु शासक पार्टी हुन् । उनीहरुको भूमिका बदलिएको छ । हिजो उनीहरु विद्रोही थिए, आज उनीहरु शासकवर्गमा रुपान्तरित भइसकेका छन् । शासकवर्ग कि सप्रिनुपर्छ, या त समाप्त हुन तयार हुनुपर्छ ।

यो नौलो कुरा होइन, समाज विकासको नियम नै हो । हिजो शासक वर्गसँगको अन्तरविरोधमा कम्युनिष्टहरुलाई सजिलो थियो । तर आज उनीहरुको अन्तर्विरोध विस्तारै आम जनतासँग हुँदैछ । त्यसकारण अब कम्युनिष्टहरुलाई त्यति सजिलो छैन ।

नयाँ पुस्ता निर्वाध स्वतन्त्रताको पक्षमा छन् । राजनीतिमा दलीय नियन्त्रण उनीहरुको रोजाइ होइन । दलहरुले आफ्नो अस्तित्व रक्षा गर्ने हो भने अब आफूलाई उनीहरुले लोकतान्त्रिकरण गर्नैपर्छ । दलभित्र स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गरेर पनि राजनीतिमा स्थान पाउन सकिन्छ भन्ने उदाहरण स्थापित नगरिकन नयाँ पुस्ता दलभित्र आउनेवाला छैन ।

नयाँ पुस्ताको दलप्रतिको धारणालाई परिवर्तन गर्न उदारतापुर्वक चारै ढोका खोल्नुपर्छ । ठेकेदार, दलाल र आइ लभ यु जमातलाई संगठित गरेर मात्र अब आन्दोलन जोगिनेवाला छैन ।

यसको समाधान कसरी गर्ने ? एकथरि भन्दैछन, वाम मोर्चा वा कम्युनिष्ट एकता । यस्तो एकता चुनाव जित्ने मेसो हुनसक्छ, तर, कम्युनिष्ट आन्दोलनको पुनतार्जगी यसबाट मात्र सम्भव छैन । कम्युनिष्ट आन्दोलनभित्र विकशित हुँदै गइरहेको दक्षिणपन्थी अवसरवादको समाप्ति पहिलो शर्त हो ।

अहिलेको नेपाली जनताको माग के हो ? ती मागहरुसँग कम्युनिष्ट आन्दोलन एकाकार हुन सक्नुपर्छ । कम्युुनिष्टहरूले हुल निर्माण गर्ने र त्यही हुलको होहल्लामा चुनाव जित्ने जस्तो ‘चुनावदेखि चुनावसम्मको’ नीति पूरै परित्याग गर्न सक्नुुपर्छ ।

थप भन्नुपर्दा, आजसम्म गरेका सम्पूर्ण गलत क्रियाकलापको लागि आम जनतासमक्ष घुडा टेकेर माफी नमागी हुँदैन । अन्यथा अरु थप्रै हर्क र बालेनहरु जन्मनेछन । त्यतिमात्र होइन, आगामी दिनहरुमा एमालेले गरेझै चुनाव चिह्न भाडामा दिएर रमाउने दिन अरु पार्टीको पनि नआउला भन्न सकिन्न ।

(लेखक नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्