Logo
Logo

चार जनामा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह


378
Shares

काठमाडौं । काठमाडौं विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए ।

उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजा देखिएको छ । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो ।’

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको बताए ।

वागबजारका दुई जना १८ र २३ वर्षीया युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक÷एकमा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताए । उनले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।
उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरेपनि परीक्षणको रिर्पोट नआएकन केही भन्न नसकिने बताए ।

‘हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौँ,’ स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, ‘हामीले घरवरपरका छिमेकीसंग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन् भनेर अध्ययन गरिरहेका छौँ ।’

उनले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ति युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो ।

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताए । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ ।

कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको उनले जानकारी दिए ।

यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धिकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उनले बताए ।

कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धिकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्