काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्न सक्रिय भएका छन् ।
अध्यक्ष नेपालले दुई साताअघि नै मन्त्री हेरफेर गर्ने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री हेरफेर गर्न नमिल्ने बताएपछि एकीकृत समाजवादीको निर्णय कार्यान्यवन हुन सकेको छैन ।

तर, अध्यक्ष नेपाल तत्काल अहिले सरकारमा भएका आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने मनशायमा छन् । यसैक्रममा बुधबार अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग नेपालले मन्त्रिपरिषद तत्काल पुनर्गठन हुनुपर्ने बताएका थिए ।
अध्यक्ष प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको बताइएको छ ।
यसअघि गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री देउवाले पछि छुट्टै कुरा गरौँला भनेका थिए । प्रधानमन्त्री देउवाले बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन अध्यक्ष नेपाललाई दिएका थिए । सोही वचन कार्यान्वयन गर्न अध्यक्ष नेपालले दवाव बढाएका हुन् ।
दुई साताअघि नै एकीकृत समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।
सो निर्णय कार्यान्वयन गराउनका लागि अध्यक्ष नेपालले पटक–पटक प्रधानमन्त्रीलाई दबाब दिँदै आएका हुन् । तर, प्रधानमन्त्री देउवाले बजेट अधिवेशन समापन भएपछिमात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भन्दै एकीकृत समाजवादीको निर्णय टार्दै आएका छन् ।











