Logo
Logo

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर



चितवन । भरतपुर महानगरपालिकाले २०७९/८० का लागि ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । असार १० गते शुक्रबार नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने महानगरको तयारी छ ।

महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेटको अन्तिम तयारी भइरहेको छ । यसअघि महानगरले सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशकसँग छलफल र सुझावसमेत लिएको थियो । बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा जोड दिएको रेनु दाहालले बताइन् ।

गएको ५ वर्ष सडकमा जोड दिएको महानगरले आउँदो बजेटमा भौतिक पूर्वाधारअन्तर्गत ढलमा बढी जोड दिन लागेको उनको भनाइ छ । खाल्डाखुल्डी सडक मर्मतसम्भार प्रथामिकतामा राखिएको छ । बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ ।

महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमहरूको कार्यविधि बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गर्ने योजना महानगरको रहेको छ । आन्तरिक आम्दानी बढोत्तरी गर्न कर शिक्षा, कर सचेतनाजस्ता कार्यक्रममा टोल सुधार समितिलाई परिचालन गरी करको दायरामा ल्याउन लागिएको उपमेयर चित्रसेन अधिकारीले बताए ।

सहकारीलाई उत्पादन र बजारसँग जोड्न लागिएको छ । आन्तरिक राजस्वको लक्ष्य १ अर्ब ५० करोड राखिएको अधिकारीको भनाइ छ । सङ्घ र प्रदेशको सशर्त बजेटसमेत थप भएकाले बजेटको सिलिङ बढेको हो । महानगरकै पहलमा सङ्घ र प्रदेशबाट विभिन्न आयोजनामा बजेट परेका छन् । नारायणी नदी तटबन्ध, सिटीहल निर्माण, पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण, चक्रपथ निर्माणजस्ता ठूला आयोजना सञ्चालनमा रहेका छन् ।

महानगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुन लागेको छ । सङ्घ र प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिसकेको छ । महानगरभित्र शिक्षक अस्पताल बन्दै छ । भरतपुर विमानस्थल विस्तारको गृहकार्य थालिएको छ । मेघौली विमानस्थलमा कालोपत्र गर्ने तयारी गरिँदै छ ।

नारायणी नदीमा सिग्नेचार पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने विभिन्न पुल बनाउने योजनाअघि सारिएको छ । आन्तरिक बजेट कम भए पनि सङ्घ र प्रदेशको ठूलो रकम यहाँका आयोजनामा परेका छन् । यसका कारण महानगरले छोटो समयमा विकासमा फड्को मारेको छ ।

प्रतिक्रिया दिनुहोस्