काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा वामपन्थीहरूकाे पहिलो पार्टी हुने बताएका छन् । वामपन्थीको पार्टी पहिलो बने देशको बागडोर आफूहरुको हातमा आउने समेत उनले बताए ।
स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ । भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ ।’
उनले राजनीतिको चाबी माओवादीसँग भएपनि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ । हाम्रो सपना अब अरुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’
स्थानीय निर्वाचनमा गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा धेरै स्थानीय तहमा चुनाव हारेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन ।’














