Logo
Logo

सहमतिविपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य : राष्ट्रिय जनमोर्चा



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमतिविपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने जनाएको छ ।

सत्तारुढ दलकै एक घटक जनमोर्चाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैरनेपालीको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान ‘नागरिकता विधेयक’मार्फत आए अमान्य हुने चेतावनी दिएको हो ।

बुधबार बेलुका सत्ता गठबन्धन दलबीच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो । त्यसको भोलिपल्ट बिहीबार राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

जनमोर्चासहित पाँच दलीय गठबन्धनको बैठकमा संसदमा प्रस्तुत विवादित नागरिकता विधेयक सरकारले फिर्ता लिई सहमतिमा नागरिकता विधेयक तयार पारेर संसदमा प्रस्तुत गर्नेबारे छलफल भएपनि कतिपय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारले भ्रम सिर्जना गरेकाले स्पस्ट पार्न जरुरी रहेको विज्ञप्तिमा जनाइएको छ ।

जनमोर्चाले वैवाहिक अंगीकृत नागरिकता दिने सवालमा नेपाली पुरुष नागरिकले विदेशी महिला नागरिकसँगै विवाह गर्ने वित्तिकै र उक्त विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता परित्याग नगरी नेपाली नागरिकता प्राप्त गर्ने कुनै पनि प्रकारको व्यवस्थाको विरोध गर्दै आएको छ ।

‘अंगीकृत नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिकबाट जन्मेका सन्तानको हकमा अंगीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निजहरुबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिइनु पर्दछ भन्नेमा पनि हामी प्रष्ट छौँ’, जनमोर्चाले भनेको छ ।
साथै, नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिला नागरिकले विवाह गरेमा आफ्नो मुलुकको नागरिकता त्यागेको ७ वर्षपछि मात्र निजलाई वैवाहिक अंगीकृत नागरिकता राज्यले दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्