Logo
Logo

नियुक्तिमा कांग्रेसीकरण भएको समाजवादी प्रेस संगठनको आरोप



काठमाडौं । सरकारी सञ्चारमाध्यम तथा सञ्चार संस्थाहरुमा भएका नियुक्ति एवं बाँडफाँडमा कांग्रेसीकरण भएको भन्दै समाजवादी प्रेस संगठन नेपालले विरोध जनाएको छ ।

वर्तमान सरकार गठन हुँदा हरेक निर्णयहरु पाँचदलीय गठबन्धनको सहमतिमा मात्रै गरिने प्रतिवद्धता व्यक्त भएको र त्यसअनुसार सरकार गठन भएको स्मरण गराउँदै संगठनले सञ्चार क्षेत्रमा भइरहेको नियुक्ति प्रकृयमा विरोध जनाएको हो ।

पाँच दलबीच भएको सहमति अनुसार सरकार गठन भए पनि त्यसबाहेक कुनै पनि निर्णय गठनबन्धनको मर्म र भावनाअनुसार नभएको काठमाडौंमा सम्पन्न संगठनको सचिवालय बैठकले निष्कर्ष निकालेको महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘अधिकांश ठाउँमा सत्तासाझेदार दलमध्ये नेपाली कांग्रेसका कार्यकर्ताहरु मात्र नियुक्ति गरेर कांग्रेसीकरण गरिएको छ । यस्ता नियुक्ति र अवसरहरुको वितरणका सन्दर्भमा समाजवादी प्रेस संगठन नेपाललाई निरन्तर उपेक्षा गरिँदै आएको छ ।’

गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिसहितका संस्थामा रिक्त पदमा गरिएको नियुक्तिमा संगठन वा संगठनसम्बद्ध मातृदल नेकपा (एकीकृत समाजवादी)सँग कुनै किमिसको परामर्श वा समन्वय नभएको विज्ञप्तिमा उल्लेख छ ।

सबै नियुक्तिमा कांग्रेसीकरण गरिएको आरोप लगाएको संगठनले खेद व्यक्त गर्दै निन्दा गरेको छ । विज्ञप्तिमा भनिएका छ– ‘एकलौटी ढंगबाट अवसर वितरण र नियुक्तिहरु गरिएकोप्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ । सरकारले सत्ता गठबन्धनको एउटा महत्वपूर्ण दल र त्यससँग सम्बद्ध संगठनसँग निरन्तर गर्दै आएको अपमानजनक व्यवहार निन्दनीय छ ।’

नियुक्तिमा कांग्रेसीकरण गरेको आरोप लगाएको संगठनले नेतृत्व पार्टी नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबारे पुर्नविचार गर्न अनुरोधसमेत गरेको छ– ‘हामी हाम्रो वैचारिक आवद्धता रहेको दललाई गठबन्धनका सन्दर्भमा पुनर्विचार गर्न वा हालसम्मका सरकारी नियुक्ति र अवसरको बाँडफाँडमा भएका विभेदपूर्ण क्रियाकलाप सच्याउनका निम्ति पहल गर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्