Logo
Logo

बाहिरियो बागमतीमा आधा-आधा अवधि मुख्यमन्त्री बनाउने सहमति पत्र



काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय मुख्यमन्त्री पाउने सहमति सार्वजनिक भएको छ । एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो ।

२०७८ साल कात्तिक ७ गते तीन दलबीच भएको सहमतिपत्रमा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे र कांग्रेसका बागमती इन्द्रबहादुर बानियाँलाई आधा-आधा अवधि मुख्यमन्त्री बनाउने उल्लेख छ । पत्रमा मुख्यमन्त्री पाण्डे, कांग्रेस बागमती अध्यक्ष बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलले हस्ताक्षर गरेका छन् ।

सोही सहमतिका आधारमा २०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए । त्यसपछिको दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो । त्यसबेला ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने सहमति भएको चर्चा भएपनि दलहरूले लिखित सहमति गोप्य राखेका थिए ।

कांग्रेस, एकीकृत समाजवादी र माओवादीबीच भएको त्रिपक्षीय सम्झौतामा भनिएको छ- ‘वागमती प्रदेश सरकारको मुख्यमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता, प्रदेशसभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने । उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेशसभाको बाँकी अवधीमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने ।’

झन्डै नौ महिनासम्म मुख्यमन्त्री बनिसकेका पाण्डेलाई सहमति कार्यान्वयन गर्न बानियाँका तर्फबाट आन्तरिक दबाब पर्दै आएको छ । तर, सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रदेश नेतृत्व हेरफेरमा ध्यान नदिँदा सहमतिपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्