Logo
Logo

नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग



काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नागरिक सुरक्षाप्रति संवेदनशील भएर योजना बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सात मन्त्रालयको विविध शीर्षकमाथिको छलफलमा उनीहरुले महिला हिंसाको अन्त्य गर्न माग गरेका हुन् । सांसदहरुले सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिए ।

बैठकमा सांसद महेशकुमार महराले राज्यले नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए । नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउनुपर्नेमा उनले जोड दिए । सांसद गङ्गाकुमारी बेल्वासेले देशभर महिला हिंसाका घटना भइरहेकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरे ।

उनले १० देखि १८ वर्ष उमेर समूहका बालिकाका लागि शारीरिक सुरक्षासम्बन्धी तालिम दिनुपर्ने बताए । उनले कैदीबन्दीको घनत्व घटाउनुपर्ने र कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सांसद सुमित्रा विसीले राजधानीलगायत सहरी क्षेत्रमा नागरिकले विद्युतको समस्याका कारण वर्षैपिच्छे इन्डक्सन चुलो फेर्नुपर्ने अवस्था रहेको बताए । लिफ्ट सिँचाइमा सरकारले एकदेखि पाँच लाखको टुक्रे बजेट छुट्टयाउने गरे पनि त्यो पर्याप्त नभएको बताए ।

सांसद् जीतेन्द्रनारायणदेवले आर्थिक आवश्यकताका आधारमा बजेट बनाउनुपर्नेमा जोड दिए । दुबै सदनमा राजनीति र अर्थतन्त्र बुझ्ने सांसद भएकाले पर्याप्त छलफल हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्