
काठमाडौं । मनसुनी प्रणाली देशैभरी सक्रिय हुन थालेको छ । जसको प्रभावले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वागमती र गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश–१ मा भने आज पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश–१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । यस्तै गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने छ ।
सुदूरपश्चिम प्रदेशमा पनि आज देखि वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली सक्रिय बन्दै गएको हो । यसकै कारण त्यहाँ आजभन्दा भोलि अझ धेरै पानी पर्ने मौसमविद्को भनाइ छ ।
वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।














