Logo
Logo

सेयर लगानीकर्ता र धितोपत्र बोर्डबीच सहमति, कोइरालाले तोडे अनसन


189
Shares

काठमाडौं । सेयर बजार सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर लगानीकर्ता र धितोपत्र बोर्डबीच सहमति भएको छ । शुक्रबार दुई पक्षबीच १९ बुँदे सहमति भएको हो ।

सहमति भएसँगै काइरालाले अनशन तोडेका छन् । मुद्रा तथा पुँजी बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न –गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसंग निकट रहेर काम गर्ने सहमति भएको छ ।

त्यसैगरी, बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने, विदेशमा रहेका श्रमिकलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण साउनदेखि कार्यान्वयनमा ल्याउने सहमति भएको छ । क्रमिक रुपमा एनआरएनलाई पनि बजारमा सहभागिता गराइने सहमति भएको छ ।

त्यस्तै नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिमेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने सहमति भएको छ ।

साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमइज प्लाटफर्म भदै महिनासम्म कार्यान्वयन गर्न पहल गर्ने, दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने सहमति भएको छ ।

धितोपत्र बजारमा नयाँ औजार भित्र्याउने सम्बन्धमा स्टक एक्सचेन्जबाट अध्ययन भई कार्यान्वयन चरणमा रहेकाले सोका लागि आवश्यक कार्य अघि बढाईने सहमति भएको छ ।

सेयर धितोमा ४ देखि १२ करोडको सीमाका सम्बन्धमा राष्ट्र बैंकसंग समन्वय गर्ने सहमति भएको छ । धितोपत्र बजारमा लिइने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकाले सोको प्रतिवेदन प्राप्त भएपछि सबै सरोकारवाला बसेर अन्तिम रुप दिने सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्