लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् ।

उनले समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताए । प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त सीपसहित, प्रविधिमैत्री, नैतिकवान जनशक्ति उत्पादन गर्ने जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । उनले यसका निम्ति बौद्ध धर्म, संस्कृति, कला साहित्यलाई प्रवद्र्धन गर्दै पर्यटनमार्फत आर्थिक विकास गर्न आवश्यक भएको बताए ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले आज लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ सभालाई सम्बोधन गर्दै इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययनको लागि अनुपम स्रोतको रूपमा रहेका बताए ।
सांस्कृतिक पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिएर यसैलाई मनन गरी विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययन, अध्यापन, संरक्षण तथा सम्वर्द्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले बुद्धभूमि र तपोभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र भएको र यसको प्रवद्धन गर्ने दायित्व हामीसँग नै रहेको बताए । उनले बौद्ध संस्कृति, कला तथा विहार, गुम्बालगायतका सम्पदा संसारकै लागि आकर्षणका विषयवस्तु रहेको भन्दै यिनलाई आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्दा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने सम्भावना प्रवल रहेको बताए ।
उनले विश्वमा व्याप्त वैमनस्यता, विध्वंसात्मक हतियारको उत्पादन तथा युद्धको भयबाट मुक्त भई व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रियलगायत विश्वमै शान्ति र सद्भाव फैलाउने मार्ग पहिल्याउन सकिने बुद्धले प्रतिपादन गरेका आर्यअष्टाङ्गिक मार्ग सम्यक दृष्टि, वचन, कर्म, व्यायाम, आजीविका, स्मृति, ध्यान, समाधि आजको २१औँ शताब्दीमा पनि सन्दर्भिक रहेको बताए ।
आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम र बजेटमा छलफल गरी विश्वविद्यालयको विकास तथा सञ्चालनको लागि अगाडि बढ्ने योजनासहितको सो सभामा प्रधानमन्त्री देउवाले नेपाललगायत विश्वका बौद्ध समाजको आस्था तथा श्रद्धाको केन्द्र एवं नेपालको गौरवपूर्ण निधिको रूपमा रहेको लुम्बिनीमा स्थापित यस विशिष्टिकृत बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन र शिक्षामा आधारित भएर नेपालको मौलिकतालाई समेट्दै शान्ति, समृद्धि र सुखी जीवनयापनको लागि ठोस योगदान दिने शैक्षिक कार्यक्रम चलाइ नेपाललाई बुद्धको देशको रूपमा विश्वलाई चिनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए ।
उनले यसको लागि सर्वप्रथम लुम्बिनी बौद्ध विश्वविद्यालयले देशभरका सबै नागरिकलाई बौद्ध दर्शन र ज्ञानबारे जानकारी दिने, त्यसमा गहन अध्ययन गर्ने, त्यसअनुसार उच्च आदर्श, मूल्य र मान्यतासहित जीवनयापन गर्न अभिप्रेरित गर्नुपर्दछ र प्राज्ञिक वातावरण र व्यवस्थाको विकास गर्नुपर्ने बताए ।
साथै, विश्वविद्यालयले आवश्यक व्यवस्थापन, पाठ्यक्रमगत अध्ययन अध्यापन प्रक्रिया, भौतिक संरचना, समाज एवं सरोकारवालासँगको सम्बन्ध र सहकार्य विद्यार्थीको उचित सुपरिवेक्षण र सहयोगको व्यवस्था, स्रोत परिचालन आदिको लागि तथ्यमा आधारित भएर उपयुक्त योजनासहित अघि बढ्नु आवश्यक रहेको उनले बताए ।














