
काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी कार्यक्रम सुरु गरेको छ ।
भण्डारीको असार १४ गते जन्मदिन हो । सो अवसरमा फाउण्डेशनले शुक्रबारदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको सचिव पेम्बा लामाले जानकारी दिए । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उनका व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर गर्दै आएको छ ।
शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।
यस्तै शनिबार कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, असार १२ गते सञ्चारकर्मीसँग अन्तक्र्रिया, १३ गते सडक सुरक्षाबारे संवाद, १४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम एवं पुरस्कार वितरण, १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’ सार्वजनीकरण तथा असार १६ गते ज्येष्ठ कम्युनिष्टलाई सम्मानको कार्यक्रम छ ।
२०५० जेठ ३ गते भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।














