Logo
Logo
कला

‘थोरै, तर गुणस्तरीय गरौँ भन्ने मेरो सोच हो’



काठमाडौं । मोडलिङ क्षेत्रमा स्थापित नाम हो, रञ्जु सुनाम । उनी ७ वर्षयता मोडलिङमा सक्रिय छन् । भारतको सिलगुढीमा जन्मेर सर्लाहीमा हुर्केका रञ्जुले ‘मिस तराई’मार्फत मोडलिङमा करिअर सुरु गरेका हुन् । बेला–बेला उनी मोडलिङमा संघर्ष गरेअनुसार सफलता हासिल गर्न नसकेको गुनासो गर्छन् । तर, पनि उनी खुसी नै छन् । ढेड दर्जनभन्दा बढी म्युजिक भिडियो र विज्ञापनमा मोडलिङ गरिसकेका रञ्जु भन्छन्, ‘हरेक क्षेत्रमा सफलता हासिल गर्न मिहिनेत गर्नुपर्छ ।’ ‘होमवर्क’, ‘आवेग’ र ‘कसैलाई नभन्नु’जस्ता फिल्ममा समेत अभिनय गरेका रञ्जुसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोहरू फाट्टफुट गरिरहेकी छु । मेरो अनलाइन विजनेश पनि छ । त्यसैले सोचेजस्तो मोडलिङलाई समय दिन भ्याएको छैन ।

मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?
मोडलिङमा सानैदेखिको मेरो रुची हो । रुची र रहरले मोडलिङ क्षेत्रमा लागेकी हुँ । आफूले इच्छाएको क्षेत्रमा काम गर्न पाउँदा खुसी छु । काम गर्न रमाइलो लागिरहेको छ । सकेजति मिहिनेत गर्दैछु ।

दुई वर्षअघि दुष्टिसँग अन्तरर्वार्तामा मोडलिङ क्षेत्रमा काम पाउनलाई गाह्रो छ भन्नुभएको थियो । अहिले पनि गाह्रै छ ?
नयाँलाई काम पाउन गाह्रै छ । अहिले मलाई चाहिँ गाह्रो छैन । मोडलिङ गर्न थालेको ७ वर्ष भइसक्यो । बरु अहिले मैले चाहिँ सोचेजस्तो समय दिन भ्याएकी छैन । आफ्नो विजनेश हेर्नुपर्ने भएकाले मोडलिङमा मेरो उपस्थिति पातलो हुँदै गएको छ ।

मोडलिङमा पैसा नभएर विजनेश सुरु गर्नुभएको हो ?
त्यस्तो होइन । मोडलिङमा पैसा नभएको होइन, छ । तर, मिहिनेत गर्नुपर्छ । तर, मोडलिङ उमेर भइञ्जेललाई मात्रै हो । त्यसको विकल्पका रुपमा विजनेश सुरु गरेकी हुँ ।

मोडलिङ होस् वा कला क्षेत्रमै किन नहोस्, ‘नातावाद’ व्याप्त छ भन्नुभएको थियो । अहिले पनि अवस्था उस्तै छ ?
कला क्षेत्रमा नातावाद छ भन्नेमा सहमत छु । तर, पहिलेजस्तो गाह्रो छैन । अहिले आफूसँग कला र प्रतिभा भयो भने काम पाउन गाह्रो छैन । तर, टिमवर्क आवश्यक छ । टिमवर्क भयो भने सबै क्षेत्रमा काम गर्न सहज हुन्छ ।

टिमवर्क बनाएर काम गर्दै हुनुहुन्छ कि एक्लै ?
मेरो त्यस्तो खास टिम छैन । आफ्नै कला र प्रतिभाले यहाँसम्म आएकी हुँ । म मिस तराई हुँदै मोडलिङ क्षेत्रमा लागेकी हुँ । त्यसैले मलाई मोडलिङमा काम गर्न सुरुदेखि नै सहज भयो ।

कुनै समय मिहिनेत गरेअनुसार सफलता पाउन सकिन भन्ने गुनासो गुर्नभएको थियो नि ?
अहिले पनि संघर्षरत नै छु । तर, सन्तुष्ट छु । मोडलिङमा काम पाइरहेकी छु । थोरै तर, गुणस्तरीय काम गरौँ भन्ने मेरो उद्देश्यको विकास भएको छ । मलाई केही फिल्ममा काम गर्ने सोच छ । ती फिल्मले समाज र दर्शक दुवैलाई छुन सकोस् भन्ने मेरो धारणा छ ।

मोडलिङमा लागेर खुसी हुनुहुन्छ ?
खुसी छु । बेला–बेला मोडलिङको विषयमा आउने नराम्रो समाचारले झस्काउँछ । तर, बुझ्दै जाँदा सबै आफूमा भरपर्ने रहेछ । भनिन्छ नि, आफू राम्रो दुनियाँ राम्रो, आफू खराब सारा खराब । मोडलिङ पनि त्यस्तै हो । पछिल्लो समय मोडलिङ क्षेत्रमा एजुकेटेडहरू बढ्दै जानुले पनि मोडलिङ क्षेत्र राम्रो बन्दै गएको छ ।

फेमिली सपोर्ट छ कि छैन ?
फेमिलीबाट पूर्ण साथ छ । सपोर्ट नपाएको भए आज यहाँ हुने थिइनँ । मेरो लागि फेमिली सबैथोक हो । तर, विवाहपछि चाहिँ के हुन्छ भन्ने कुरा अहिले नै थाहा हुन्न । सर्पोट मिल्यो भने विवाहपछि पनि मोडलिङ वा कला क्षेत्रलाई निरन्तरता दिनेछु ।

दुई वर्षअघि दृष्टिमार्फत भन्नुभएको थियो– दुई–तीन वर्षपछि विवाह गर्छु । बेला भयो होइन र ?
मैले दुई–तीन वर्ष भनेकी थिएँ । अझै एक वर्ष बाँकी नै छ । अबको एक वर्षमा गर्न पनि सक्छु । तर, विवाह भन्ने कुरा लेखेको हुने हो, भनेर हुँदैन ।

अहिले अफेयरमा हो ?
त्यस्तो अफेयर्स पनि छैन । अहिले काममै व्यस्त छ । अफेयर्स चलाउने समय मिलेको छैन ।

विवाहपछि करिअर ब्रेक लाग्छ भन्ने डरले महिला कलाकारले ढिलो विवाह गरेको पाइन्छ । तपाईंलाई पनि त्यस्तो डर छ ?
मलाई डर छैन । कलाकारिता नै जीवन होइन । विवाहपछि घरबाट सर्पोट भयो भने कलाकारितामा काम गर्ने हो । कसैको इच्छाविपरित कलाकारिता नै गर्छु म भन्दिनँ । सकेसम्म आफूले मनाउन खोज्ने हो ।

तपाईंको प्राथमिकता के हो ?
कलाकारिता र विजनेश । रुचीले कलाकारितामा लागेकी हुँ । यो मेरो प्यासन हो । अब मलाई केही फिल्ममा काम गर्ने इच्छा छ । विजनेश भनेको भविष्य चलाउनुलाई हो ।

प्रतिक्रिया दिनुहोस्