
महोत्तरी । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै भारततर्फ मदिरा तस्करी बढेको छ ।
सीमामा कतिपय स्थानमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो ।
असारमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् । यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ ।सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ ।











