Logo
ब्लग

रुन्ची रामकुमारी



काठमाडौं । एउटा पुस्ताको मन र मस्तिष्कमा एउटा तस्बिर अमिट बनेर बसेको छ- केही युवा विक्षिप्त अवस्थाका एक युवा सम्हाल्दै छन् । रगतले सिरदेखि पाउसम्म भिजेको छ ।

दृश्य कारुणीक हो । तर, दृश्यले करुणा होइन, साहस र वीरताका साथ बलिदान सञ्चार गरिरहेको थियो, युवामा ।

अस्ति, रामकुमारी मन्त्री हुँदै गर्दा त्यो दृश्यले युवामा संघर्ष र बलिदानको प्रेरणा छर्दै पुनः एकपटक उपस्थिति जनायो ।

दृश्यका पात्र थिए- रामकुमारी झाँक्री । परिवेश थियो- २०६२-०६३ मा वर्तमान व्यवस्थाका लागि भएको संघर्ष । रामकुमारीको सोही तस्बिरले हजारौं युवालाई परिवर्तनको पक्षमा उभ्याएको छ, त्याग र बलिदानका लागि तयार बनाएको छ, युवामा क्रान्तिको सञ्चार गराएको छ ।

यस अर्थमा, रामकुमारी एक पुस्ताका ‘पोलिटिकल आइडल’ हुन् ।
०००

केपी ओलीले संविधानमाथि प्रहार प्रारम्भ गरेदेखि नै विपक्षमा उभिएका रामकुमारीमा २०६२-६३ कै जोस, जाँगर र साहस थियो । उनका अभिव्यक्तिले युवामा जोस भरियो, संघर्षका लागि प्रेरणा मिल्यो ।

नेकपा हुँदै सुरु भएको अन्तरसंघर्ष नेकपा विभाजन भएर एमाले विभाज हुँदासम्म आइपुग्दा पनि रामकुमारीमा आशा र भरोसा उस्तै थियो ।

एमाले विभाजनपछि एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुग्दाको एउटा दृश्यले धेरैलाई भावुक बनायो, सँगै आशा र भरोसा जगायो ।

वर्षौ खर्चेर बनाएको पार्टी छोडेर अर्को पार्टी दर्ता गर्न जाँदै गर्दा माधवकुमार नेपाल विक्षिप्त थिए । एमालेमा हुँदा साथ दिएका धेरैले पार्टी विभाजनका क्रममा साथ छोडे । तर, उनै रामुकमारीले आमाले सन्तानलाई माया गरे झैँ, सन्तानले वृद्ध बुबालाई माया गरे झैँ हात समातेर तानिरहेका थिए, डोर्याइरहेका थिए ।

त्यो दृश्यले रामकुमारीमा झनै आशा बढायो, विश्वास बढायो, श्रद्धा र सम्मान थपिदियो ।
०००

पदभार सम्हालेपछि मन्त्रीका रुपमा रामकुमारीले अघि सारेका योजनाहरुले पनि आशा नै जगाएको थियो । तर, परिणामले एकपछि अर्को गर्दै निराशातिर धकेल्दै गयो ।

पिर्के सलामी लगायतले रामकुमारीप्रति सम्मान घट्दै गयो । रामकुमारीको नेतृत्वमा देखिने केही काम भएनन् । त्यस बिचमा उनका अनेक फण्डेवाज अभिव्यक्तिहरुले पार्टी र आम नागरिकमा श्रद्धाभाव घट्दै गयो ।

यसैबीच, अचानक उनको पार्टीले मन्त्री फेर्ने निर्णय गर्यो । त्यो अप्रत्यासित नै थियो । तर, हामीले अभ्यास गरिरहेको संसदीय प्रणाली र यहाँको परम्परा बुझेका रामकुमारीलाई त्यो निर्णय अप्रत्यासित लाग्नुपर्ने थिएन ।

अपेक्षा थियो- पार्टीले निर्णय गरेकै दिन रामकुमारीले राजीनामा दिनेछन् । तर, त्यस्तो भएन । जाबो एक थान मन्त्री पद जोगाउन अनेक फण्डाका डिजाइनर बने । प्रचण्ड धाए, देउवा धाए, सकेसम्म अरु शक्तिकेन्द्र पनि बाँकी राखेनन् । हुँदा-हुँदा केही सांसद भेला पारेर मन्त्री नफेर्न पार्टीलाई दबाब दिन पछि परेनन् ।
०००

सत्ताको स्वादले मान्छेलाई लोभी बनाउँछ । रामकुमारीलाई पनि लोभी नै बनायो । छोटो समयको स्वादले रुँदै बिदा हुनुपर्ने अवस्थामा पुर्यायो सायद !

सडकको रापबाट स्थापित नेतृत्वले कति छिट्टै बिर्सेका होलान्- सत्ता स्थायी हुँदैन भन्ने । संसदीय अभ्यासमा दलले गरेको निर्णय अन्तिम हुन्छ भन्ने पनि बिर्से सायद ! त्यसैले त पार्टीले फिर्ता बोलाएको यत्तिका दिनसम्म अनेक फण्डा गर्दै पद जोगाउन लागिपरे ।

राजनीतिको अन्तिम विन्दु सत्ता नै हो । इमान जमानका साथ राजनीतिमै रहे ‘जाबो मन्त्री पद त आउँछ-जान्छ’ भन्नेसम्म पनि सम्झन नसक्ने गरी लोभी भइसकेका रहेन्, रामकुमारी । त्यसैले त रुँदै बाहिरिनुपर्ने अवस्था बन्यो ।

वैचारिक रुपमा त्यति कामजोर पनि लाग्दैन, राजनीतिक रुपमा पनि बलियो नै छन्, उमेर पनि बाँकी नै छ । जाबो एक थान मन्त्रीकै लागि किन त्यति धेरै लोभी भएका होलान् ? अचम्म लाग्छ !
०००

सडकमा बाघ झै गर्जने रामकुमारीहरु सिंहदरबारबाट निरीह भएर रुँदै निस्कनुपर्ने परिस्थितिका लागि रामकुमारीहरु मात्र दोषी लाग्दैनन् । यसमा हामीले गर्दै आएको गलत अभ्यास पनि कारक हो ।

काम गर्न पठाएको मन्त्रीलाई काम थाल्दा नथाल्दै फिर्ता बोलाउने निर्णय गर्न बाध्य बनाउने परिस्थिति पनि यसको कारक हो ।
एकीकृत समाजवादीलाई ७-८ महिनामै मन्त्री फिर्ता बोलाउनुपर्ने त्यस्तो विशेष बाध्यता देखिँदैन । राम्रो काम गर्न नसके पनि पार्टी र देशलाई नै गम्भीर घात पुर्याउने गल्ती गरे झैँ पनि लाग्दैन ।

यहाँ, मन्त्री पदलाई बालबच्चा फकाउने ‘ललिपप’ ठान्ने प्रवृत्तिले भूमिका खेल्यो । केहीलाई फकाउन मन्त्री फेर्नुपर्ने दलको बाध्यताले भूमिका खेल्यो । समग्रमा गलत अभ्यासले भूमिका खेल्यो ।
०००

२२ असोज २०७८ रातको ८ बजे पछिको समय हुनुपर्छ । शहरी विकास मन्त्रीको रुपमा रामकुमारी पदभार ग्रहण गर्न सिंहदरबार पुगे ।

सडकले स्थापित गरेको पछिल्लो पुस्ताको नेता रामकुमारी मन्त्रीको रुपमा पहिलोपटक सिंहदरबार प्रवेश गरेको दिन थियो, त्यो ।

पदभार ग्रहरणको त्यो दृश्य धेरैले ख्याल गरेको हुनुपर्छ- कुर्सीमा बस्न लाग्दा रामकुमारी झण्डै लडे ! केही असहज महसुस गरे पनि परिस्थिति सम्हाले ।

लिम्बू भाषामा एउटा शब्द छ- नाधामा । अर्थात गाल पर्नु । पहिलोपटक मन्त्रीको कुर्सीमा बस्न लाग्दा झण्डै लडेपछि रामकुमारीलाई ‘नाधामा’ भएको थियो !

रामकुमारीका लागि अशुभको संकेत पो थियो कि ! लिम्बू समुदायमा ‘गाल परेपछि सिर ढल्छ’ भन्ने मान्यता छ । र, ढलेको सिर उठाउनु पर्छ ।

ढलेको सिर काम गरेर उठाउलान भन्ने लागेको थियो । तर, सिर उचो हुने केही काम गर्न सकेनन् ।

हामी भौतिकवादीहरु यस्ता मान्यताहरुलाई अन्धविश्वास भन्छौँ । तर, परम्परागत मान्यताहरु झट्टै विर्सन सक्दैनौं । परिघटनाहरुपछि कतै त्यस्तै पो भयो कि ? भनेर एकपटक चाहिँ सोचिन्छ ।

रापिलो छवि लिएर सिंहदरबार छिरेको एउटा आशा निराशाको रुप धारण गरेर रुँदै निस्कदा दुःख लाग्छ ।

प्रतिक्रिया दिनुहोस्