Logo
Logo

निगमले व्यावसायिक योजना परिमार्जन गर्ने



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ ।

निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने रणनीतिक महत्वको व्यावसायिक योजना परिमार्जन गर्ने निर्णय गरेको हो । नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताए ।

उनका अनुसार निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ ।

निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ ।

यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय हुने निगमले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्