Logo

बालकोटको आकाशमा एसपीपीको चट्याङ



सत्ता या व्यवस्था बदल्न जरा काट्नु पर्छ । यद्यपि, यहाँ पातमात्रै टिपेर व्यवस्था बदलिएको रंगमञ्चमा हामी रमाइरहेका छौँ ।

पुरानो व्यवस्थाको स्कुलिङबाट प्रशिक्षित केपी शर्मा ओलीजस्ता प्रदूषित जराहरू बाँकी राख्नु यो व्यवस्था र देशकै लागि दुर्भाग्यपूर्ण ठहरिँदै गएको छ । ओली गुट अहोदामा हुँदा देशको अस्मितामाथि लगातार गरेका हमलाहरू अहिले सिलसिलेवार पर्दाफास भइरहेका छन् ।

जनताको ताउली रित्याएर आफ्नो धनसार भरिपूर्ण तुल्याउने कपटी सोचले जेलिएको ओली गुटका पछिल्ला घटनाहरूको पर्दाफासबाट पूर्णतः जनघाती र राष्ट्रघाती सावित भएको छ ।

भारतीय नाकाबन्दीको नेपाल विरोधी गर्भाशयबाट हुर्किएको यो कथित राष्ट्रवाद आज एसपीपी सम्झौतासम्म आउँदा ‘पँधेरोमा जेठाजु देख्दा पेटिकोटले टाउको छोपेकी बुहारी’झैँ अनुत्तरित भएको छ ।

पंक्तिकार स्वयं हार्दिकतापूर्वक एमाले पार्टी र त्यसको भ्रममा घिटिघिटी गरिरहेका आम भ्रमित मस्तिष्कलाई आग्रह गर्दछ कि– राष्ट्रवादको त्यो फरिया जनमतको हत्या गरेकै दिन जनताकै विश्वासले उडाएको हो । कृपया एकपल्ट ऐना हेर्ने कष्ट गर्नुस् !

ओली गुटलाई एसपीपीको चट्याङले थला बस्ने गरि हिर्काएको छ । प्रधानसेनापतिले तत्कालीन प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीलाई जानकारी गराएरै एसपीपीबारे पत्राचार गरेको प्रमाण पेस गरेपछि एमाले नेताहरू बेसरम सेनाले झुक्याएको प्रष्टीकरण दिँदै हिँडिरहेका छन् ।

बजेट प्रस्तुत भएपछि यतिका दिनसम्म एमाले सांसदहरू ‘जवाफ देउ– जवाफ देउ’ भनेर संसद्मा निकै कुर्लिए । जब रोस्ट्रममा अर्थमन्त्री जवाफ दिन गए, एमालेका सांसदहरू सुइँकुच्चा ठोके । यस्तो कायरता पनि राजनीति हुन्छ ?

रातको १२ बजे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयललाई बालुवाटारको ओछ्यानमै बोलाएर साउती मारे । त्यसले दुईतिहाइ बढी बहुमतको संसद्सहित शक्तिशाली कम्युनिष्ट पार्टीसमेत छिन्नभिन्न पार्याे ।

त्यही बानी लागेको एमालेले अर्थमन्त्रीले मध्यरातमा बजेटका विभिन्न दायराहरू निर्माण गर्दा अनधिकृत व्यक्ति भित्र्याएको आरोप लगायो । अर्थमन्त्रीले त्यो सत्य होइन भनेर पुष्टि गर्न चुनौती दिएपछि मुख देखाउन लाज भएर एमाले सांसदहरू संसद् भवनबाट निन्याउरो मुख लगाउँदै बाहिरिए ।

के यही हो त– एमालेका ‘बा’ले दैनिक छादिरहने गहिरो राष्ट्रवाद ? ओली र उनका गुट कहिल्यै राष्ट्रवादी थिएन । कुख्यात महाकाली सन्धिका मुख्य योजनाकार ओली नै थिए । पशुपतिका भारतीय पूजारीका प्रमुख संरक्षक पनि उनै थिए ।

तत्कालीन भारतीय राजदूत राकेश सुदसँग मिलेर सरकारविरुद्ध विरोधसभा गर्ने पनि उनै ओली थिए । दिल्लीसँग साँठगाँठ गरी पहिलो संविधानसभा असफल पार्ने पनि उनै थिए । गणतन्त्र रोक्न अनेकौं दुष्प्रयास गर्ने पनि ओली नै थिए भन्ने कुरा घटनाक्रमले उजागर गरेको छ ।

सन् २०१५ मा प्रधानमन्त्री हुँदा कसैलाई थाहा नदिई सेनामार्फत एसपीपीबारे पत्राचार गराउने केपी ओली हुन् । सन् २०१८ मा ईश्वर पोखरेलमार्फत प्रक्रिया अघि बढाउने पनि ओली नै हुन् । सन् २०१९ मा प्रदीप ज्ञवालीलाई अमेरिका पठाएर सम्झौता गराउने पनि उनै ओली हुन् । अनि देशमा राष्ट्रवादको चर्को नारा उराल्ने र विपक्षीहरुप्रति तथानाम आरोप लगाउने पनि ओली हुन् !

सोच्नुस् त यिनीहरूले पाँच वर्षसम्म देश चलाएको भए के बनाउँदा हुन् ? ओली गुटको पछिल्लो गतिविधि हेर्दा ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने भनाइको पुष्टि भएको छ । समग्रमा राष्ट्रवादको चर्को नारा उरालेर नथाक्ने ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीको वास्तविक मुखुण्डो देश र दुनियाँले देख्ने गरी उदांगिएको छ ।

ओली एउटा त्यस्तो गिरोहको नाइके हुन्, जसले जुनकुनै कोणबाट भए पनि देशलाई तहसनहस बनाइराख्ने जिम्मेवारी लिएको छ भन्ने कुरा यिनले चालेका हरेक कदमले दिने परिणामबाटै प्रष्ट हुन्छ । निरन्तर अरुमाथि नै दोष थोपर्ने बानी परेको ओली गुटले को दलाल र को देशभक्त हो भन्ने सीमारेखा छर्लङ्ग पारेको छ ।

संसद् विघटन गर्न हातमा सरकार छैन । अध्यादेश ल्याएर पार्टी विभाजन गरौं भने त्यो पनि छैन । गर्ने के ? उखाल्ने कसलाई ? अहिले बडो आपतमा छ, ओली गुट ।

वास्तवमा ओली संविधान निर्माणका बखत प्रधानमन्त्री हुने लालचले ‘भवितव्य राष्ट्रवादी’ देखिन खोजेका मात्रै हुन् । उनले देशको स्वाधीनतामाथि बारम्बार सौदाबाजी गरिरहेका छन् । तर, जनताले आफ्ना हर्कत बुझ्न नसकून् भनेर भावनात्मक गफ जोतेरै भए पनि लोकलाई भ्रमित तुल्याउन उनी खप्पिस छन् ।

महाकाली सन्धीको कमान्डरदेखि एसपीपीसम्मको पेरिफेरिमा आउँदा उनले देशको स्वाधीनतामाथि पटक–पटक प्रहार गरेका छन् । उनले आफूलाई वैदेशिक शक्तिकेन्द्रको एउटा एजेन्टको रुपमा स्थापित गरेका छन् । उनका सामु अबको विकल्प भनेकै वैदेशिक प्रभुहरूको चरणमा गिड्गिडाउनेबाहेक अर्को छैन ।

जनताका अघि उनले पाइलैपिच्छे गरेका दुष्कर्महरू एकपछि अर्को गर्दै उघारिँदै जान थालेपछि मुख देखाउन सकस परेको छ । हुन त ओली गुटका निर्लज्ज कुकर्महरूदेखि लाजले पनि घुम्टो ओढ्ने गर्छ ।

परन्तु, यसपालि एमाले र त्यो भित्रको पनि ओली गुटमाथि एसपीपीको चट्याङले थला बस्ने गरिनै हिर्काएको छ ।

प्रधानसेनापतिले समेत तत्कालीन प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीलाई जानकारी गराएरै एसपीपीबारे पत्राचार गरेको सप्रमाण बताइरहँदा एमाले नेताहरू सेनाले झुक्याएको प्रष्टीकरण दिँदै हिँडिरहेका छन् ।

आफ्नो अहोदा र मर्यादालाई बिर्सिएर विदेशीसामु लम्पसार पर्ने ओली गुटमाथि प्रतिफलयुक्त खसेको यो चट्याङले एमालेका ‘बा’ र उनका बेसुर छोराछोरीमाथि परेको चोटलाई सहने शक्ति मिलोस् ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्